भक्तपुर । अधुरो रहेको पितृमुक्ति भवन निर्माण सम्पन्न गर्न भक्तपुरको मध्यपुर थिमि-३, गठ्ठाघरमा जेठ ४ गतेदेखि श्रीमद् भागवत महायज्ञ आयोजना हुने भएको छ। बिहिवार आयोजित पत्रकार सम्मेलनमा सनातन पितृमुक्ति समाज, गठ्ठाघरका अध्यक्ष खेम सुवेदीले भवन निर्माणको उद्देश्यले महायज्ञ गर्न लागिएको जानकारी दिए ।
सुवेदीका अनुसार महायज्ञबाट उठेको दान रकमबाट भवन निर्माण सम्पन्न गरी बाँकी रकम अक्षयकोष स्थापना र पुस्तकालय निर्माणमा खर्च गरिनेछ । प्रचार संयोजक नारायण न्यौपानेका अनुसार, सो महायज्ञमा प्रमुख कथावाचन राधिका दाशीले गर्ने भएकी छिन ।
जेठ १० गतेसम्म सञ्चालन हुने महायज्ञबाट करिव दुई करोड रूपैयाँ सहयोग संकलन गर्ने लक्ष्य लिइएको छ। “किरियापुत्री भवन जस्तो महत्वपूर्ण सामाजिक कार्य अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने भन्ने सोचका साथ महायज्ञ आयोजना गर्न लागिएको हो,” सुवेदीले भने ।
महायज्ञ सफल बनाउन १७ वटा उपसमिति गठन गरिएको छ। सो भवन भवनको निर्माणको थालनी २०६९ सालमा लगाइएको महायज्ञबाट संकलित रकमबाट गरिएको थियो।
“सुरुमा विभिन्न समाजसेवीबाट सहयोग जुटाएर काम अघि बढाए पनि अपूरो रहेकाले अहिले पुनः महायज्ञ गर्न लागिएको हो,” सुवदीले बताए । पाँच आना दुई पैसा क्षेत्रफलको जग्गामा तीनतले भवन बनिसकेको र हालसम्म करिब १ करोड ६३ लाख रुपैयाँ खर्च भइसकेको अध्यक्ष सुवेदीको भनाई छ ।
अझै १६ लाख रुपैयाँ ऋण बाँकी रहेको भन्दै, त्यसलाई तिर्न र अन्य आवश्यक संरचना निर्माण गर्न महायज्ञ अपरिहार्य भएको उनको भनाइ छ। सहयोग गर्ने दाताहरुलाई योगदानको आधारमा सम्मान गर्ने विशेष व्यवस्था पनि गरिएको प्रचार संयोजक न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा बोल्दै मध्यपुर वडा नं.३ का अध्यक्ष एवं नगर प्रबक्ता कृष्णहरि आचार्यले स्थानीय तहले गर्नुपर्ने काम समुदायले गरेकोमा धन्यवाद दिदै नगरपालिकाले पनि सक्दो सहयोग गर्ने बताए ।


