images
images

वैशाखमा बढ्यो घरजग्गा कारोबार, राजस्व संकलनमा पनि १७ प्रतिशतको वृद्धि


  • 479
    SHARES
  • २०८२ जेठ ८ गते बिहीबार

    वैशाखमा बढ्यो घरजग्गा कारोबार, राजस्व संकलनमा पनि १७ प्रतिशतको वृद्धि

    काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनामा घरजग्गाको कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा यस वैशाख महिनामा ५.३० प्रतिशतले घरजग्गाको कारोबार बढेको हो । 

    गत वैशाखमा देशभर ४९ हजार ७८२ वटा लिखतपारित भएका थिए । उक्त संख्या यसपटक बढेर ५२ हजार ४२३ पुगेको विभागको तथ्यांकमा जनाइएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को वैशाखमा देशभर ४२ हजार ४६१ वटा लिखत पारित भएका थिए । 

    घरजग्गाको कारोबारमा सुधार आएसँगै जग्गाको कारोबार वापत संकलन हुने राजस्व पनि बढेको छ । गत वैशाखको तुलनामा जग्गाको कारोबारबापत संकलन हुने राजस्व १७.६१ प्रतिशतले बढेको छ । गत वर्षको वैशाखमा ३ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । जुन यसपटक बढेर ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को वैशाखमा घरजग्गाको कारोबारवापत ३ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन भएको थियो । 

    चालु आर्थिक वर्षको वैशाख महिनामा सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सो कार्यालयबाट २०३५ वटा लिखत पारित भएको तथ्यांकमा जनाइएको छ । त्यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, भद्रपुर, मालपोत कार्यालय बेलवारी, भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, धनगढी, मलंगवा, सिराहा, तुलसीपुर, कलैया र कोहलपुरबाट पनि एक हजार भन्दा धेरै कारोबार भएका छन् । 


    images

    Logo