images
images

वीरगञ्ज नाकाबाट हुने निर्यात दुई सय १० प्रतिशतले बढ्यो


  • 211
    SHARES
  • २०८२ जेठ २० गते मंगलबार

    वीरगञ्ज नाकाबाट हुने निर्यात दुई सय १० प्रतिशतले बढ्यो

    वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा पाँच खर्ब छ अर्ब ६७ करोड मूल्यका सामान भित्रिएका छन् । आव २०८०÷ ८१ को १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाका हुँदै भित्रिने समान १२ दशमलव ७५ अर्थात् ५७ अर्ब ३० करोडले बढी हो ।  

    यो नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ पहिलो नम्बवरमा रहेको छ । पाँच थरिका पेट्रोलियम पदार्थमात्र एक खर्ब ५५ अर्ब ९४ करोडको भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाका हुँदै दोस्रो धेरै आयात हुने वस्तुमा भने भटमासको कच्चा तेल रहेको छ । जसको हिस्सा ४५ अर्ब ७९ करोड रहेको छ ।

    प्रमुख भन्सार प्रशासक दीपक लामिछाने चालु आवमा आयात र निर्यात दुवैमा वृद्धि भएको बताउँछन् । लामिछानेका अनुसार, चालु आवको १० महिनामा २९ अर्ब दुई करोड मूल्यका मेसिनरी तथा तिनका पार्टपुर्जा आयात भएका छन् । त्यस्तै २८ अर्ब ५१ करोड मूल्यका फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । सोही अवधिमा २३ अर्ब ८५ लाख मूल्यका सबै प्रकारका एलोपेथिक औषधि भित्रिएका छन् ।

    चालु आवको १० महिनामा आयात मात्र नभएर निर्यातमा पनि उल्लेखीय वृद्धि भएको छ । चालु आवको १० महिनामा ७९ अर्ब तीन करोड मूल्य बराबरका वस्तु तथा सामान यो नाका हुँदै निर्यात भएको छ । जबकि गत आवको १० महिनामा यो नाका हुँदै २५ अर्ब ४८ करोड मूल्यबराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।

     गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने दुई सय १० प्रतिशत अर्थात् ५३ अर्ब ५५ करोड बढीको सामान निर्यात भएको हो । चालु आवको १० महिनामा यो नाका हुँदै सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल प्रशोधित रहेको छ । चालु आवको १० महिनामा ४६ अर्ब ५३ करोड मूल्यका २१ करोड ९२ लाख ४६ हजार ६५१ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ । 

     गत आवको सोही अवधिमा नौ करोडका चार लाख ६४ हजार ९३ लिटरमात्र भटमासको तेल निर्यात भएको थियो । चालु आवको १० महिनामा सात अर्ब २७ करोडको तीन करोड ५२ लाख २३ हजार ८२४ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । गत आवको १० महिनामा १० करोडको पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो ।


    images

    Logo