images
images

गोरखामा लिची बिक्रीबाट  ११ करोड आम्दानी


  • 273
    SHARES
  • २०८२ आषाढ १३ गते शुक्रबार

    गोरखामा लिची बिक्रीबाट  ११ करोड आम्दानी
    गोरखा । गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष रु ११ करोड १५ लाख आम्दानी गरेका छन् । गत वर्षको तुलनामा जिल्लामा यसपटक लिची उत्पादनबाट किसानले झण्डै एक करोड १५ लाख बढी आम्दानी गर्न सफल भएकोे कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए। 
     
    “गतवर्ष यहाँ रु १० करोड बराबरको लिची बिक्री भएको थियो”, उहाँले भन्नुभयो, “तर यसपटक रु एघार करोडभन्दाबढी मूल्यको लिची किसानले बिक्री गरेका छन् ।’’ प्रमुख बस्ताकोटीले लिचीका लागि मौसम अनुकुल भएको तथा बगैँचा व्यवस्थापन राम्रो भएकाले उत्पादन बढेको बताउनुभयो ।
     
    “यसपाली लिची उत्पादनका लागि मौसम अनुकूल रह्यो,” उनले भने, “त्यसमा पनि किसानले समयमै औषधि उपचार तथा बगैँचाको राम्रो मलजल तथा सिँचाइ  व्यवस्थापन गरेका कारण उत्पादन राम्रो भएको हो ।” 
     
    गोरखामा यो वर्ष एक हजार सात सय १६ मेट्रिक टन लिची उत्पादन भएको छ, जबकी गत वर्ष एक हजार पाँच सय ९७ मेट्रिक टन लिची उत्पादन भएको थियो । अघिल्लो वर्ष  एकसय ८० हेक्टर क्षेत्रफलमा लिची उत्पादन भएकोमा यो वर्ष एक सय ८७ हेक्टरमा लिची उत्पादन भएको प्रमुख बस्ताकोटीको भनाइ छ । उत्पादित लिची प्रतिकेजी रु ६५ का दरले बिक्री हुँदा किसानले मनग्य आम्दानी गरेको उनले बताए ।
     
    जिल्लाको पालुङटार नगरपालिकालाई लिचीखेतीको मुख्य पकेट क्षेत्र मानिन्छ । पालुङटारको वडा नम्बर ६, ७ र ८ बाट मात्रै ८० प्रतिशत लिची उत्पादन हुने गरेको छ । ती वडामा करिब ३० हजार लिचीका बोट छन् । पालुङटार क्षेत्रमै १५० हेक्टर जमिनमा लिचीखेती गरिएको छ ।


    images

    Logo