images
images

बरेङ गाउँपालिका जोड्ने सडक कालोपत्र


  • 419
    SHARES
  • २०७८ मंसिर २० गते सोमबार

    बरेङ गाउँपालिका जोड्ने सडक कालोपत्र

     बलेवा कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्तग्रत जैमिनी नगरपालिका–१० राङ्खानीदेखि बरेङ गाउँपालिका–१ चित्रेसम्मको सडक स्तरोन्नति तथा कालोपत्रेको काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारको पालिका मुकाम जोड्ने सडक कालोपत्रे गर्ने योजनाअन्तग्रत यो सडकको ११ किलोमिटर खण्डको काम सुरु भएको हो ।

    दुई वर्षमा कालोपत्रको काम सक्ने गरी सडक स्तरोन्नतिको जिम्मेवारी पाएको निर्माण कम्पनीले धमाधम काम थालेको छ । चालु आर्थिक वर्षमा सम्झौता भएको सडकको पहिलो चरणमा फराकिलो बनाउने काम थालिएको निर्माण कम्पनी रौताहा खानी धुलिखेल जेभी कन्ट्रक्सनका साइड इञ्चार्ज खेमराज सुवेदीले जानकारी दिए। “अहिले छवटा मेसिनले काम गरिरहेका छन्, आवश्यक गिट्टी, कङ्क्रिट तयार गर्ने काम भइरहेको छ”, उनले भने, “मजदुर आइपुगेका छन्, अब मजदुरले गर्ने काम सुरु हुन्छ ।” बरेङलाई सदरमुकाम र प्रदेश राजधानीसँग जोड्ने छोटो दूरीको सडक भएकाले समयमा निर्माणको काम सक्न दबाब छ । 

     २०५४ सालमा नक्साङ्कन गरिएको यो सडकको १५ वर्षअघि ट्याक खुलेको थियो । बागलुङको मालढुङ्गादेखि कुश्मीशेरा खण्डमा बिभिन्न क्लस्टरमा काम भइरहेको छ । कुश्मीशेरा, देवलधारा १० किलोमिटर खण्डको स्तरोन्नति तथा कालोपत्रेको काम म्याद सकिँदासम्म ३५ प्रतिशत सकिएको छ ।

     म्याद थप भएकाले यो खण्ड र देवलधारादेखि नम्दुक हुँदै चित्रे खण्ड तयार हुँदा बरेङलाई सहज हुने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । “हामीले काममा आउने बाधामा सहजीकरण गरिरहेका छौँ, समयमा काम थाल्न र समयमा सक्न भनेका छौँ”उनले भने “यो बरेङका लागि अत्यावश्क सडक हो ।” 

    सडक फराकिलो र कालोपत्र हुँदा बरेङको आर्थिक विकासमा सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ । प्रदेश सरकारको योजना भए पनि गाउँपालिकाले सडकको काममा चासो दिएको छ । गाउँपालिकाकै स्रोतमा बरेङ बजारमा गत आर्थिक वर्षमा कालोपत्र भएको सडकबाहेक यो सडक नै बरेङको पहिलो कालोपत्र सडक हुन्छ ।

     चित्रेदेखि पालिका मुकाम रहेको सुदाला र पालिका मुकामदेखि छिमेकी जिल्ला गुल्मीको शान्तिपुरसम्मको सडक कालोपत्रका लागि समेत पहल भइरहेको छ । गत आर्थिक वर्षमा पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट गाउँपालिकाले पालिका मुकामदेखि शान्तिपुर सडकको केही खण्ड फराकिलो बनाएको थियो ।


    images

    Logo