जनकपुर । मधेसमा राजस्व सङ्कलनमा उल्लेख्य प्रगति भएको छ । सो प्रदेशमा गत आर्थिक वर्ष २०८१÷८२ मा पाँच अर्ब ५४ करोड ७२ लाख ३३ हजार राजस्व सङ्कलन भएको छ । यो पछिल्ला सात आर्थिक वर्षकै उच्च हो ।
मधेशमा सात वर्षअघि अर्थात आव २०७५÷७६ मा दुई अर्ब ६६ करोड १५ लाख ३६ हजार राजस्व सङ्कलन भएको थियो । जुन गत आव २०८१÷८२ को तुलनामा दोब्बर बढी हो । मधेसको अर्थ मन्त्रालयले यसलाई उल्लेख्य प्रगति भनेको छ ।
कर प्रशासन सुदृढीकरण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधि बढेका कारण यो उपलब्धि हासिल भएको प्रदेशका अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले बताए । मधेशमा यसअघि आर्थिक वर्ष २०८०÷८१ मा तीन अर्ब पाँच करोड ९२ लाख ३१ हजार राजस्व सङ्कलन भएको थियो ।
चालु आर्थिक वर्ष आगामी वर्षहरुमा राजस्व सङ्कलनमा अझ सुधार हुँदै जाने अनुमान मन्त्रालयले गरेको छ । सङ्कलन प्रक्रियालाई वैज्ञानिक रुपमा व्यवस्थित गरिएको हुँदा थप उपलब्धि हासिल हुने सचिव महतोको भनाइ छ ।


