काठमाडौं । चालू आर्थिक वर्षको साउनमा नेपालबाट हुने गलैंचाको निर्यात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यातको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा नै गलैंचाको निर्यात ९२.६६ प्रतिशतले घटेको हो ।
गत आर्थिक वर्ष २०८१/८२ को पहलिो महिनामा १ अर्ब ११ करोड ७५ लाख रुपैयाँ बराबर रकममा ४० हजार ४८१ वर्ग मिटर गलैंचा निर्यात भएको थियो । आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा उक्त रकममा ९२.६६ प्रतिशतले घटेर ८२ करोड ५ लाख रुपैयाँमा सिमित भएको छ । सो अवधिमा २६ हजार ९४९ वर्ग मिटर गलैंचा निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा ९५ करोड ६६ लाख रुपैयाँ बराबर रकममा ३७ हजार ८३४ वर्गामिटर गलैंचा निर्यात भएको थियो ।
गत आर्थिक वर्षभरिमा नेपालले १० अर्ब ७७ करोड रुपैयाँ बराबर रकममा ४ लाख ७२ हजार वर्ग मिटर गलैंचा निर्यात गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा नेपालले १० अर्ब ५७ करोड रुपैयाँ बराबर रकममा ४ लाख १४ हजार वर्ग मिटर गलैंचा निर्यात गरेको थियो ।
नेपालमा उत्पादन गरिएको गलैंचा मुख्यतः बेल्जियम, अष्ट्रेलिया, क्यानडा, चीन, अमेरिका, जर्मनी, बेलायत, इटाली, फ्रान्स, स्वीजरल्याण्ड लगायतका देशहरुमा निर्यात हुने गरेका छन् ।


