काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६८ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा यस आवको सोही अवधिमा मुद्रास्फीति घटेको छ । गत आवको साउन महिनामा यस्तो मुद्रास्फीति ४.०९ प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार गत साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशतले ऋणात्मक देखिएको छ । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ३.९५ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ६.१७ प्रतिशत र २.९४ प्रतिशत थियो ।
गत साउनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.९७, गैर–मदिराजन्य पेय पदार्थको ४.६४ प्रतिशत र फलफूलको ३.०१ प्रतिशतले बढेको छ । तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सबैभन्दा धेरै १८.५६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । मरमसलाको ४.८१ र माछा तथा मासुको २.४१ प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.६०, शिक्षाको ७.६७, कपडाजन्य तथा जुत्ताचप्पलको ६.८४, फर्निसिङ तथा घरायसी उपकरणको ५.०६ र सुर्तीजन्य पदार्थको ४.६८ प्रतिशतले बढेको छ ।
बिमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२२ प्रतिशतले घटेको छ । गत साउनमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.६५ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.७० प्रतिशतले बढेको छ ।
प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.८४, मधेस प्रदेशको १.८६, बागमतीको १.६७, गण्डकी १.०३, लुम्बिनी को १.३५, कर्णालीको १.७९ र सुदूरपश्चिम प्रदेशको ०.३१ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार गत साउनमा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२६, तराईको १.३३, पहाडको १.५६ र हिमालको २.५९ प्रतिशत रहेको छ ।


