images
images

जनकपुरधाम भन्सारमा १३ करोडको क्षति


  • 189
    SHARES
  • २०८२ आश्विन ५ गते आइतबार

    जनकपुरधाम भन्सारमा १३ करोडको क्षति

    काठमाडौँ । जेन जेड प्रदर्शनका क्रममा जनकपुरधाम भन्सार कार्यालयमा रु. १३ करोड ८७ लाख ५० हजार बराबरको क्षति भएको छ । 

    जनकपुरधामको रेल्वेस्टेशन नजिक रहेको सो कार्यालयका दुई भवन, कर्मचारी निवास र सवारीसाधनमा आगजनी एवं तोडफोड भएको कार्यालय प्रमुख मानबहादुर पौडेलले जानकारी दिए । 

     

    गत भदौ २४ गते गरिएको आगजनीबाट दुई थान भ्यान, लिलामीका लागि राखिएका ३१५ मोटरसाइकल, एउटा निजी ट्रक, फर्निचर, कम्प्युटर, प्रिन्टरलगायत सामग्री नष्ट भएका उनले बताए । 

    कार्यालय प्रमुख पौडेलका अनुसार कर्मचारीको निवासमा रहेका लत्ताकपडा र कागजात एवं रकम समेत लुटेर लगेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा आज जनकपुरधाममा आयोजित  कार्यालयको नियमित सेवा सञ्चालन तथा क्षतिसबन्धी समीक्षा बैठकमा भन्सार प्रमुख पौडेलले आफ्नो कार्यालयको अवस्था तथा क्षतिको विवरण प्रस्तुत गरे । 

    भन्सार प्रमुख पौडेलका अनुसार कार्यालयअन्तर्गत रहेका छोटी भन्सार कार्यालयबाट भन्सार जाँच पास सुरु गरिएको छ । सो कार्यालयअन्तर्गत भडरिया छोटी भन्सार, इनरुवा छोटी भन्सार र जटही  छोटी भन्सार कार्यालय सञ्चालनमा छन् । जनकपुरधाम भन्सार कार्यालय तोडफोड र आगजनीका कारण सञ्चालनको अवस्थामा छैन । 

    सो अवसरमा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सरकारी कार्यालयबाट जनताको कामलाई इमान्दारीपूर्वक, छिटोछरितो, सरल तथा सहज गर्न निर्देशन दिए ।


    images

    Logo