काठमाडौैं । अर्थमन्त्री जनार्दन शर्माले सरकारका अन्य मन्त्रीहरुलाई पुस महिनाभित्र ३० प्रतिशत खर्च गरिसक्ने लक्ष्य दिएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा भएको पूँजीगत खर्च सम्बन्धी अन्तर मन्त्रालयगत छलफलमा अर्थमन्त्री शर्माले सो लक्ष्य दिएका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य मन्त्रालय, खानेपानी मन्त्रालय लगायतका मन्त्री तथा सचिवहरु आजको कार्यक्रममा सहभागी थिए । कार्यक्रममा शर्माले समयमा पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको बताउँदै चाँडो खर्च गर्न ताकेता गरेका हुन् । उनले आफ्नो मन्त्रालयको तर्फबाट खर्च भएको रकमको भुक्तानीमाढिलासुस्ती नहुने प्रतिवद्धता सोत व्यक्त गरे ।
‘बजेटहरूको सम्बन्धमा ढिलासुस्ती अर्थमन्त्रालयले गर्न मिल्दैन, गर्न पाउँदैन र गर्ने छैन भन्ने प्रतिवद्धता व्यक्त गर्दछु’, उनले भने, ‘आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत बजेट यो महिनाभित्र खर्च भएको हुनुपर्छ ।’
बजेट खर्चको चौमासिक समीक्षा गर्दा अवस्था खराव देखिए रकमान्तर गर्ने चेतावनी समेत शर्माले मन्त्रालयका सचिवहरुलाई दिए । ‘बजेट त्यहीँ बसिराख्दैन । यो बजेट अन्तिममा दिन्छु भनेर मानिनेवाला छैन, अन्तिममा निकासा पनि गरिने छैन’, उनले भने, ‘असारमा आएर बजेट निकासा हुँदैन । जे निकासा हुने हो पहिले नै हुन्छ । खर्च हुँदैन भने खर्च हुने ठाउँमा पठाइदिन्छौँ ।’
उनले संघीय निकायबाट समयमै खर्च नहुने स्थिति देखिए प्रदेश तथा स्थानीय तहमा रकम थपेर पठाइदिने समेत बताए । शर्माले भने, ‘खर्च गर्नुस्, बजेट लिनुस् । खर्च गर्नुहुन्न त्यो बजेट समातेर बस्न पाउनुहुन्न ।’
शर्माले अर्थ मन्त्रालयमा फाइल आएको तीन दिनभित्र त्यसको जवाफ पठाउन आफ्ना कर्मचारीलाई निर्देशन दिए ।


