पाँचथर । जनप्रतिनिधि निर्वाचित भएको करिब साढे चार वर्षमा फिदिम नगरपालिकाले पूर्वाधार विकासमा उल्लेख्य प्रगति हासिल गरेको छ । नगर उपप्रमुख उर्मिला प्रधान (श्रेष्ठं) ले तयार पारेको प्रगति विवरणअनुसार पूर्वाधार निर्माणका क्षेत्रमा धेरै उपलब्धि प्राप्त भएको हो । सडक सञ्जाल निर्माण, विस्तार तथा स्तरोन्नति, प्रशासकीय संरचनाको निर्माण, विद्यालय, स्वास्थ्य संस्थालगायत संरचना निर्माण, कृषि तथा सिँचाइको विकास, सुशासन प्रवद्र्धन लगायत कार्यमा नगरपालिकाले उल्लेख्य उपलब्धि हासिल गरेको दाबि गरिएको छ ।
नगरपालिकाले नगर चक्रपथ निर्माणको अवधारणा ल्याई १४ वटै वडामा मुख्य बस्तीलाई जोड्न सडकको २ सय १५ किलोमिटर नयाँ ट्र्याक विस्तार गरेको छ । यस्तै सडक स्तरोन्नति अन्तर्गत १ सय ८७ किलोमिटर सडकको चौडाइ वृद्धि गरिनुका साथै ३.५ किलोमिटर सडक ग्राभेल, ८ किलोमिटर सोलिङ, २.१७ किलोमिटर कालोपत्र र १.४५ किलोमिटर सडक सतह ढलान सम्पन्न भएको छ ।
यस्तै मुख्य सडक संरक्षण र दिगोपनाका लागि ६ किलोमिटर नाली निर्माण, ३५ वटा कजवे कल्भर्ट निर्माण र ४ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको प्रगति विवरणमा उल्लेख छ । यी समग्र कार्यसहित वडाले गरेको प्रयासबाट नगरपालिकाभित्र ८ सय ६० किलोमिटर सडक संरचना सवारीका साधन सञ्चालन योग्य बनेको फिदिम नगरपालिकाले जनाएको छ ।उक्त अवधिमा नगरपालिकाले प्रशासकीय भवनसहित ११ वटा वडा कार्यालय भवन, १९ वटा सामुदायिक विद्यालयका भवन, १८ वटा सामुदायिक भवन, ७ वटा स्वास्थ्यचौकी भवन र एउटा पर्यटन सूचना केन्द्र निर्माण गरेको छ ।
चालू आर्थिक वर्ष २०७८/०७९ पछि फिदिममा वडा नं ४ बाहेक सबै वडा कार्यालय आफ्नै भवनबाट सञ्चालन हुनेछन् । यस अवधिमा विद्यालय र सार्वजनिक स्थानमा गरी फिदिम नगरपालिकाले ३९ वटा शौचालय निर्माण गरेको छ । तर जग्गा अभावका कारण फिदिम बजार क्षेत्रमा भने सार्वजनिक शौचालय निर्माण गर्न नसकिएको उक्त कार्यालयले जनाएको छ ।
यस्तै नगरपालिकाले ८.५ किलोमिटर पर्यटक पदमार्ग र ती पदमार्गमा ६ वटा पर्यटक विश्राम घर र टहरा निर्माण गरेको छ । फिदिम–२ मा एउटा भ्यूटावर तथा एउटा हेलिप्याड निर्माण सम्पन्न भएको प्रगति विवरणमा उल्लेख छ । साढे चार वर्षका अवधिमा नगरपालिकाले १३.५ किलोमिटर पक्की साना सिञ्चाइ कुलो निर्माण गर्नुका साथै १५ वटा कुलो मर्मत गरी ३५० हेक्टर क्षेत्रफल जमिनमा सिँचाइको प्रबन्ध गरेको छ । यस्तै यस अवधिमा कमजोर आर्थिक अवस्थाका १हजार९ सय ७ घरपरिवारको फुसका छानो हटाई जस्तापाता वितरण गरिएको, व्यक्ति तथा सङ्घसंस्थालाई १ हजार८ सय ३३ बण्डल जस्तापाता वितरण गरिएको र खानेपानी सुविधा पु¥याउन १ सय ४६किलोमिटर खानेपानी पाइप वितरण गरिएको उपप्रमुख प्रधानले जानकारी दिए ।
कृषि तथा पशुपक्षीको व्यावसायिक विकासमार्फत नगरवासीको आम्दानी वृद्धिका लागि नगरपालिकाले एक हजार २ सय थान प्लाष्टिक टनेल, ८५ थान प्लाष्टिक पोखरी र १ सय ५० थान मिनिटिलर वितरण गरेको छ ।
यस्तै नगरभित्रका १४ वटै वडामा कम्तीमा एक वटा पर्ने गरी कृषि पकेट क्षेत्र कार्यक्रम सञ्चालनमा ल्याई व्यावसायिक उत्पादनमा जोड दिइएको नगरपालिकाले जनाएको छ । यस्तै फिदिम नगरपालिकाले यस अवधिमा ५ वटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याउनुका साथै २ स्थानमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ ।
नगर विकास पाश्वचित्र तयार पार्नुका साथै नगरपालिकाले नगर आवधिक योजनासमेत तयार पारेको छ । यस्तै पर्यटन विकासका लागि लब्रेकुटी–सिलौटी पर्यटकीय गुरुयोजना, फाल्गुनन्द सर्किट गुरुयोजना, भ्यूटावर पदमार्ग लगायत योजना तयार पारेको जनाएको छ । फिदिम नगरपालिकाले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यको अनुशरण गर्दै स्थानीय स्तरमा ‘समृद्ध शहर, फिदिम नगर’को परिकल्पना र ‘नगरवासीको सपना, समग्र समृद्धिको स्थापना’ नामको अभियान अगाडि बढाएको छ । नगरपालिकामा १४ वडा छन् । यस नगरमा साविकको नगरोन्मुख फिदिम गाविस सहित चोकमागु, सिवा, लुम्फाबुङ, रानीटार, नाङ्गीन र लुङरुपा गाविस तथा साविक याङ्नाम गाविसको आधा भाग समेटिएको छ । नगरपालिकाको कूल जनसङ्ख्या ४९ हजार २ सय १ छ ।


