काठमाडौं । केही समयदेखि निरन्तर वृद्धिको क्रममा रहेको हाइड्रोपावर उपसमूहमा बिहीबारको बजारमा पनि १.४१ प्रतिशतको वृद्धि हुन पुग्यो, करिब ४० वटा कम्पनीहरुमध्ये अधिकांशको शेयरमूल्य पनि बढेको पाइयो यद्यपि बजारको समग्र अवस्था हेर्दा लगानीकर्ताहरु अब हाइड्रोपावर सेक्टरबाट बिस्तारै मोडिन खोजेको विश्लेषण गर्न सकिने अवस्था रह्यो ।
बिहीबारको बजारमा ६ वटा हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट नै लाग्यो भने बाँकी ६ वटाको शेयरमूल्य पनि ५ प्रतिशतभन्दा बढीले बढ्न पुग्यो । यसले हाइड्रोपावर सेक्टरमा अझै आकर्षण रहेको प्रतीत हुन्छ तर वास्तविक अवस्था भने अलि भिन्न छ । सकारात्मक सर्किट लागेका ५ र उच्च मूल्य वृद्धि भएका थप ४ वटा कम्पनी २०० रुपैयाँभन्दा कम शेयर मूल्यका कम्पनी थिए । शेयरबजारमा अब ३ वटामात्रै हाइड्रोपावर कम्पनी छन्, जसको शेयरमूल्य २०० भन्दा कम छ । यसरी हेर्दा बजारले हाइड्रोपावरको न्यूनतम सीमा २०० लाई टेकेर अघि बढेको प्रतीत हुन्छ । बुधबारको बजारमा कुनै पनि हाइड्रोपावर कम्पनीको मूल्य नघटेकोमा बिहीबार बढी मूल्य घट्ने १० मध्ये ४ कम्पनी हाइड्रापावर नै रहनुले पनि सोही अवस्थाको संकेत गर्दछ ।
पछिल्लो समय बजारमा खास कम्पनीहरुमा निरन्तर चलखेल हुने गरेका छन् । ती कम्पनीहरुबाहेकको अवस्था हेर्दा लगानीकर्ताहरु कुनै एउटा समूहमा लाग्ने र त्यसबाट प्रतिफल बुक गरी अर्को समूहमा लाग्ने गरेको विगतको साक्ष्य नै छ र अहिलेको संकेत पनि त्यही नै देखिन्छ । बुधबारसम्म निद्रामै रहेको फाइनान्स समूहलाई बिहीबार एकाएक जागृत् गराइयो र एक्कासी ४.६८ प्रतिशतको वृद्धि गरियो । यस आधारमा हेर्दा अबको केही दिनको आकर्षण फाइनान्स समूहमा हुन सक्ने र त्यससँगै थोरै चुक्ता पुँजी भएका विकास बैंकहरुले समेत फड्को मार्ने प्रक्षेपण गर्न सकिन्छ । सबैको पर्खाईको विषय भनेको बैंक तथा विकास बैंक समूहमा भने त्यति चलखेल हुन सक्ने देखिँदैन । धेरै पुँजी भएको र शेयरको कर्नरिङ गर्न मुस्किल हुने भएकाले बैंक र ठुला विकास बैंकको शेयरमा भने असाधारण चलखेल गर्न कठिन हुन सक्दछ ।


