images
images

खुला पत्र :  गगनजी, यो बेला काँध नछोड्नुहोस्


  • 1.8K
    SHARES
  • २०८२ फाल्गुण २६ गते मंगलबार

    खुला पत्र :  गगनजी, यो बेला काँध नछोड्नुहोस्

    आदरणीय गगन थापा 
    सभापति, नेपाली कांग्रेस 

    निर्वाचन परिणामपछि पार्टीभित्र उठिरहेका बहस, आलोचना र आत्ममन्थनलाई म एक शुभेच्छुकका रूपमा गम्भीरतापूर्वक नियालिरहेको छु । अपेक्षा अनुसार परिणाम नआउँदा प्रश्न उठ्नु स्वाभाविक हो । तर आजकल सुनिन थालेको एउटा आवाज– ‘सभापतिले राजीनामा दिनुपर्छ’ – भने कुराले मन भारी बनाउँछ । किनभने मेरो विश्वास छ, तपाईं जस्तो नेतृत्व राजनीतिक पार्टीले एक जुगमा एक पटक मात्र पाउँछ ।

    तपाईं विशेष महाधिवेशनमार्फत सभापतिमा आउनुभएको नेता हुनुहुन्छ । त्यो केवल पद परिवर्तन मात्र थिएन, त्यो नेपाली कांग्रेसभित्र आशा र परिवर्तनको संकेत थियो । तर तपाईंले जिम्मेवारी सम्हाल्दा चुनाव आउन करिब पचास दिन मात्र बाँकी थियो । उम्मेदवार टुंग्याउनसमेत दुई दिनको सीमित समय थियो । वास्तविकता के हो भने, तपाईंले अभियान सुरु गर्नु अघि नै आम मतदाताले आफ्नो निर्णय गरिसकेका थिए । यस्तो अवस्थामा चमत्कारिक परिणाम अपेक्षा गर्नु यथार्थसँग मेल खाने कुरा थिएन ।

    यद्यपि, कठिन परिस्थिति हुँदाहुँदै पनि कांग्रेस पूर्ण रूपमा बढारिएको होइन । अघिल्लो चुनावमा लोकप्रिय मतमा बलियो देखिएको नेकपा एमालेभन्दा कांग्रेस निकै माथि छ । समानुपातिक मतमा पनि कांग्रेस अगाडि नै छ । निवर्तमान नेतृत्व पक्षको असहयोगका बाबजुद पनि यो अवस्थामा उभिनुमा समेत वर्तमान नेतृत्वको सफलता हो । सबै कुरा गुमेको छैन, आधार अझै बाँकी छ । त्यसलाई उचाईमा पुर्याउने ल्याकत तपाईंमा प्रचुर मात्रामा छ । 

    यही बेला पार्टीभित्रैबाट तपाईंविरुद्ध आवाज उठिरहेको देख्दा मनमा चिन्ता पैदा हुन्छ । इतिहासले देखाएको छ, कहिलेकाहीँ पार्टीहरू बाहिरी आक्रमणले होइन, भित्री अधैर्यताले कमजोर हुन्छ । आज यदि तपाईंले काँध छोड्नुभयो भने त्यो केवल एउटा पद खाली हुनु मात्र होइन, धेरै कार्यकर्ताको आशा कमजोर हुनु पनि हुनेछ ।

    नेपाली कांग्रेसको इतिहासमा बीपी पछि दूरदृष्टि, वैचारिक स्पष्टता र संवाद गर्ने क्षमताका नेताको चर्चा हुँदा तपाईंको नाम स्वाभाविक रूपमा अगाडि आउँछ । तपाईं केवल नेता मात्र होइन, एउटा सम्भावनाको प्रतीक पनि हुनुहुन्छ । धेरै युवाले कांग्रेसभित्र परिवर्तनको सम्भावना तपाईंमा देखेका छन् ।

    हिजो कांग्रेस ठूलो दल भएर पनि सरकारको नेतृत्व पाएन । आलोपालोको सत्ता प्राप्तिको लोभले विगतमा पार्टीले ठूलो क्षति पनि बेहोरेको तथ्य लुकेको छैन । त्यसैले अहिलेको आवश्यकता सत्ता होइन, संगठनको पुनर्निर्माण हो । त्यो पुनर्निर्माणको यात्राबाट नेतृत्व पछि हट्नु भनेको कांग्रेसलाई झन् ठूलो अन्योलतिर धकेल्नु हुन सक्छ ।

    राजनीतिमा नैतिकता आवश्यक हुन्छ । तर नैतिकता भनेको केवल पद त्याग गर्नु मात्र होइन । कहिलेकाहीँ कठिन समयमा जिम्मेवारी सम्हालेर उभिनु नै ठूलो नैतिकता हुन्छ । पार्टी कठिन मोडमा पुगेको बेला नेतृत्वले नै बाटो देखाउनुपर्छ । आज कांग्रेसलाई आवश्यक कुरा सभापतिको राजीनामा होइन, आत्मसमीक्षा र पुर्नगठनको साहसिक पहल हो ।

    यसैले आदरणीय गगनजी, यो पत्र कुनै आग्रह मात्र होइन, एउटा भावनात्मक अपिल पनि हो, कृपया यो बेला काँध नछोड्नुहोस् ।

    पार्टीभित्रका साथीहरूलाई पनि म यति मात्र भन्न चाहन्छु, यो समय नेतृत्व गिराउने होइन, कांग्रेसलाई बलियो बनाउने समय हो । असन्तोषलाई बहस बनाऔँ, बहसलाई सुधारको बाटो बनाऔँ । १५ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर एउटा सग्लो कांग्रेस निर्माणमा अघि बढ्नु पनि आजको आवश्यकता हो । 

    किनकि आज पनि धेरै कार्यकर्ताको मनमा एउटा विश्वास जीवित छ, ‘गगनको विकल्प गगन नै हो ।’

    कठिन समयमा पछि हट्ने नेता धेरै हुन्छन् । तर कठिन समयलाई नै इतिहास बनाउने नेता थोरै हुन्छन् । आशा छ, तपाईं त्यही थोरैमध्ये एक बन्नुहुनेछ र नेपाली कांग्रेसलाई फेरि जनताको भरोसाको केन्द्र बनाउने यात्रामा नेतृत्व गर्नुहुनेछ ।

    सादर शुभेच्छासहित
    पेशल आचार्य
    केन्द्रीय सदस्य, नेपाल प्रेस युनियन


    पेशल आचार्य
    आचार्य नेपालअर्थ डटकमका अध्यक्ष हुन् ।


    images

    Logo