भक्तपुर । सूर्यविनायक नगरपालिका- ८ मा बृहत् घुम्ती हाटबजार तथा सम्मान कार्यक्रम आयोजना हुने भएको छ । जेठ १६ गते, शनिबारका दिन सो कार्यक्रम आयोजना गरिन लागेको हो ।
वडाअध्यक्ष पुष्पराज बस्नेतका अनुसार, सोहि अवसरमा घुम्ती हाटबजार तथा एसईई परीक्षामा उतिर्ण विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रम आयोजना गरिने भएको हो । दिगो विकास व्यवस्थित शहरस् स्वच्छ समृद्ध सूर्यविनायक नगरू भन्ने मूल नाराका साथ सूर्यविनायक नगरपालिका-८ ले सो कार्यक्रम आयोजना गरेको अध्यक्ष बस्नेतले बताए ।
घुम्ती हाटबजारमा स्थानीय कृषि तथा घरेलु उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले ५५ भन्दा बढी स्टलहरू राखिनेछन्। बजारमा नर्सरी, विभिन्न प्रकारका फुड स्टलहरू (जस्तै : नेवारी खाजा सेट, योमरी, बारा, पानीपुरी, चटपटे, फास्टफुड), हस्तकलाका सामग्री राखिने बस्नेतको भनाई छ ।
मेलामा हस्तनिर्मित गरगहना, मखमली जुत्ता, कपडाको कुसन कभर तथा घरेलु उद्योगका उत्पादनहरू (अचार, सुत्केरी मसला, ड्राइफ्रुट्स, वाटेको धुप, वेसार, गुन्द्रुक) उपलब्ध हुनेछन् । त्यसैगरी स्थानीय कृषकहरूले उत्पादन गरेका हरियो ताजा तरकारीहरू र हर्बल सामग्रीहरू (जस्तैः कुरीलो, आरुबखडा, फर्सी) पनि बजारको मुख्य आकर्षण रहनेछन् ।
कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन सांगीतिक ब्यान्ड र चर्चित गायक मानस राजको विशेष सांगीतिक प्रस्तुति रहनेछ। कार्यक्रममा किनमेल र मनोरञ्जनको साथसाथै, एसईई परीक्षामा सफलता प्राप्त गरेका १०० भन्दा बढी विद्यार्थीलाई बधाई तथा सम्मान समेत गरिने अध्यक्ष बस्नेतले बताए ।
मेलामा स्थानीय उत्पादनको किनमेल, सांगीतिक मनोरञ्जन र सफल विद्यार्थीहरूको हौसला बढाउन यस महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुन सम्पूर्ण नगरवासीलाई बस्नेतले आमन्त्रण गरेका छन् ।


