images
images

काठमाडौं उपत्यकाको अर्को मौन विपद् : अव्यवस्थित ढल र वर्षा पानी व्यवस्थापन


  • 636
    SHARES
  • २०८३ श्रावण १ गते शुक्रबार

    काठमाडौं उपत्यकाको अर्को मौन विपद् : अव्यवस्थित ढल र वर्षा पानी व्यवस्थापन

    सरिता तिम्सिना भट्टराई

    काठमाडौं उपत्यकामा विपद्को चर्चा हुँदा हाम्रो ध्यान प्रायः बाढी, पहिरो वा नदी कटानतर्फ जान्छ । तर स्थानीय सरकारको जनप्रतिनिधिका रूपमा विकास निर्माणका योजना, सडक, ढल तथा नदी क्षेत्रको नियमित अनुगमन गर्दै जाँदा मैले महसुस गरेको एउटा गम्भीर यथार्थ छ – काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मौन विपद् अव्यवस्थित ढल तथा वर्षा पानी व्यवस्थापन हो ।

    काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनिक रूपमा तीन जिल्ला भए पनि वातावरण, पूर्वाधार, यातायात, नदी प्रणाली, जनघनत्व र आर्थिक गतिविधिका दृष्टिले यी एउटै महानगरीय क्षेत्र हुन् । तर हाम्रो योजना र पूर्वाधार व्यवस्थापन अझै पनि नगरपालिकाको सीमाभित्र सीमित छ । पानीले न त नगरपालिका चिन्छ, न त जिल्लाको सीमा । तर हाम्रो योजना र संरचनाले कृत्रिम सीमा बनाइदिएका छन् । यही कारण समस्या एउटा ठाउँबाट अर्को ठाउँमा सर्दै गएको छ ।

    समस्या कहाँबाट सुरु भयो ?
    काठमाडौं उपत्यकाका अधिकांश पुराना ढल प्रणाली प्रारम्भमा वर्षाको पानी निकासका लागि निर्माण गरिएका थिए । समयक्रमसँगै घर–घरमा शौचालय र ढल जडान हुँदै गएपछि ती प्रणालीमा फोहोर पानीसमेत मिसिन थाल्यो । अहिले धेरै स्थानमा वर्षाको पानी र फोहोर पानी एउटै पाइपबाट बग्ने व्यवस्था रहेको छ । यसले वर्षायाममा ढल प्रणालीमाथि अत्यधिक चाप सिर्जना गर्छ, जसका कारण सडक डुबान, ढल उफ्रिने र नदी प्रदूषित हुने समस्या झन् जटिल बन्दै गएको छ ।

    उपत्यकामा तीव्र शहरीकरणसँगै खुला जमिन, पोखरी, राजकुलो र पानी जमिनभित्र सोसिने प्राकृतिक क्षेत्र क्रमशः हराउँदै गएका छन् । सडक, आँगन, पार्किङ तथा सार्वजनिक स्थान कङ्क्रिट र कालोपत्रेले ढाकिँदा वर्षाको पानी जमिनभित्र सोसिने अवसर घटेको छ । फलस्वरूप वर्षाको अधिकांश पानी केही मिनेटमै सडकबाट ढलमा र ढलबाट नदीमा पुग्छ ।

    यसले एकातिर सडक डुबान गराउँछ भने अर्कोतिर नदीमा एक्कासि पानीको बहाव बढाएर बाढीको जोखिम बढाउँछ । यसको प्रत्यक्ष उदाहरण भक्तपुरको हनुमन्ते खोला, काठमाडौंका बागमती, विष्णुमती, धोबीखोला तथा मनोहरा नदी हुन् । यी नदीहरू अहिले प्राकृतिक जलधाराभन्दा बढी फोहोर पानी बग्ने माध्यममा परिणत हुँदै गएका छन् ।

    यही अवस्थालाई सुधार गर्न हनुमन्ते, मनोहरा तथा अन्य नदी किनारमा नदीमा सिधै मिसिने ढललाई संकलन गरी प्रशोधन केन्द्रसम्म पु¥याउने विशेष ढल प्रणाली निर्माण गर्ने परियोजनाहरू सञ्चालन भइरहेका छन् । यस्ता प्रयासहरू सकारात्मक भए पनि सम्पूर्ण उपत्यकाको ढल व्यवस्थापन प्रणाली अझै एकीकृत नहुँदा समस्या समाधान हुन सकेको छैन ।

    24f5ccc6-d26a-48c3-9d31-fba388b4a22e.jfif

    भक्तपुरको जगाती–राधेराधे–सल्लाघारी क्षेत्र, काठमाडौंको कोटेश्वर–तीनकुने–बालकुमारी करिडोर तथा ललितपुरका घना बस्तीहरूमा वर्षायाममा दोहोरिने सडक डुबान र ढल उफ्रिने घटनाले एउटा स्पष्ट सन्देश दिन्छ–समस्या केवल बढी वर्षा होइन, पूर्वाधारको समग्र योजना, क्षमता र समन्वयको अभाव हो ।

    स्थानीय सरकारको सीमितता
    स्थानीय सरकारले आफ्नो स्रोत र क्षमताअनुसार सडक, ढल तथा नाला निर्माण गरिरहेका छन् । तर दशकौँअघि निर्माण भएका सम्पूर्ण ढल प्रणालीलाई पुनःनिर्माण गर्न सडक भत्काउने, नयाँ संरचना बनाउने र आधुनिक प्रणाली लागू गर्ने कार्य कुनै एक नगरपालिकाको आर्थिक वा प्राविधिक क्षमताभित्रको विषय होइन ।

    यसैले यो कुनै एक स्थानीय तहको समस्या होइन । यो सम्पूर्ण काठमाडौं उपत्यकाको साझा तथा राष्ट्रिय पूर्वाधार चुनौती हो । त्यसैले संघ, प्रदेश र सबै स्थानीय तहले संयुक्त रूपमा विशेष परियोजनाका रूपमा यसलाई अघि बढाउनुपर्ने आवश्यकता टड्कारो छ ।

    अब कस्तो प्रणाली आवश्यक छ ?
    अब केवल नयाँ ढलका पाइप थपेर समस्या समाधान हुने अवस्था छैन । हामीले क्रमशः फोहोर पानी र वर्षाको पानीका लागि छुट्टाछुट्टै ढल प्रणाली विकास गर्नुपर्छ । प्रत्येक घरमा मापदण्डअनुसारको सेप्टिक ट्याङ्की अनिवार्य हुनुपर्छ । त्यसमा संकलित फोहोरलाई नियमित रूपमा विशेष सक्शन ट्याङ्करमार्फत सङ्कलन गरी आधुनिक फोहोर पानी प्रशोधन केन्द्रमा लैजानुपर्छ ।

    प्रशोधनपछि प्राप्त पानी उद्योग, कृषि, सार्वजनिक उद्यान तथा अन्य आवश्यक प्रयोजनमा पुनःप्रयोग गर्ने नीति अब ढिला नगरी कार्यान्वयन गर्नुपर्छ । त्यसैगरी वर्षाको पानी जमिनभित्र पुनर्भरण गराउने इनार, वर्षा बगैँचा, पानी सोस्ने खालका सडक तथा पैदलमार्ग, खुला हरित क्षेत्र र वर्षा पानी सङ्कलन प्रणालीलाई भवन निर्माण मापदण्डमै अनिवार्य रूपमा समावेश गर्न आवश्यक छ । यस अभियानमा सरकार मात्र होइन, निजी क्षेत्र, विकास साझेदार, विश्वविद्यालय, प्राविधिक संस्था तथा नागरिक समाजलाई समेत साझेदार बनाउनु अपरिहार्य छ ।

    783c269d-ec19-4786-bd1e-a92e547e768b.jfif

    काठमाडौं उपत्यकाको ढल तथा वर्षा पानी व्यवस्थापन : अवस्था विश्लेषण
    सबल पक्ष
    – काठमाडौं उपत्यकाका तीनै जिल्लाबीच भौगोलिक निकटता र आपसी अन्तरनिर्भरता । 
    – उपत्यकामा खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी संस्थागत संरचनाको आधार तयार भइसकेको ।
    – स्थानीय तहमा जनप्रतिनिधिको सक्रिय सहभागिता ।
    – अन्तर्राष्ट्रिय विकास साझेदारको सहयोग प्राप्त हुने सम्भावना ।

    कमजोरी
    – वर्षाको पानी र फोहोर पानी एउटै ढल प्रणालीमा मिसिने अवस्था ।
    – पुरानो ढल संरचना, असमान पाइपको आकार तथा अपर्याप्त क्षमता ।
    – स्थानीय तहबीच साझा गुरुयोजनाको अभाव ।
    – सीमित बजेट तथा नियमित मर्मत–सम्भारमा कमजोरी ।

    अवसर
    – सार्वजनिक–निजी साझेदारीमार्फत लगानी विस्तार ।
    – आधुनिक फोहोर पानी प्रशोधन केन्द्र तथा प्रशोधित पानीको पुनःप्रयोग ।
    – ढल व्यवस्थापनको डिजिटल अनुगमन प्रणाली ।
    – जलवायु वित्त तथा हरित पूर्वाधारमार्फत लगानी आकर्षित गर्ने अवसर ।

    चुनौती
    – जलवायु परिवर्तनका कारण बढ्दो तीव्र वर्षा ।
    – अनियन्त्रित शहरी विस्तार ।
    – नदी तथा सार्वजनिक जग्गाको अतिक्रमण ।
    – सार्वजनिक स्वास्थ्यमा बढ्दो जोखिम ।
    – सडक तथा अन्य पूर्वाधारमा निरन्तर बढ्दो क्षति ।

    निष्कर्ष
    काठमाडौं उपत्यकाको भविष्य केवल फराकिला सडक निर्माणले सुरक्षित हुँदैन । सडकमुनि रहेको अदृश्य पूर्वाधार—ढल, फोहोर पानी तथा वर्षा पानी व्यवस्थापन—वैज्ञानिक, योजनाबद्ध र एकीकृत नभएसम्म हामी प्रत्येक वर्ष उही समस्या दोहोर्याइरहनेछौं । 

    आजको आवश्यकता नयाँ सडकभन्दा पहिले नयाँ सोच हो । 

    काठमाडौं उपत्यकाका लागि एकीकृत महानगरीय ढल तथा वर्षा पानी व्यवस्थापन गुरुयोजना तयार गरी संघ, प्रदेश, स्थानीय तह तथा निजी क्षेत्रको साझेदारीमा कार्यान्वयन गर्न सकियो भने मात्र स्वच्छ, सुरक्षित, दिगो र जलवायु उत्थानशील काठमाडौं उपत्यका निर्माण सम्भव हुनेछ ।

    विपद् आएपछि राहत बाँड्नु आवश्यक हो, तर त्यो पर्याप्त होइन । दीर्घकालीन समाधान भनेको विपद्को मूल कारण हटाउनु हो । त्यसको सुरुवात सडकमुनि लुकेको ढल तथा वर्षा पानी व्यवस्थापन प्रणालीको वैज्ञानिक पुनर्संरचनाबाट हुनुपर्छ ।

    टिप्पणी : यस लेखमा उल्लेख गरिएका पुराना संयुक्त ढल प्रणाली, नदी किनारमा निर्माण भइरहेका ढल सङ्कलन संरचना, काठमाडौं उपत्यकाको शहरीकरणसँग सम्बन्धित तथ्य तथा पूर्वाधारका उदाहरणहरू विभिन्न प्राविधिक अध्ययन, परियोजना विवरण, सम्बन्धित निकायका सार्वजनिक दस्तावेज, प्राविधिक विज्ञहरूको सुझाव तथा स्थानीय सरकारमा कार्यरत रहँदा प्राप्त व्यावहारिक अनुभवका आधारमा प्रस्तुत गरिएको हो ।


    सरिता तिम्सिना भट्टराई
    सरिता तिम्सिना भट्टराई, सूर्यविनायक नगरपालिकाका उपप्रमुख हुन् ।


    images

    Logo