काभ्रेपलाञ्चोक, ५ असोज: काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले नगरभित्र जन्मिने प्रत्येक दलित परिवारका नवजात शिशुको नाममा रु एक लाख जम्मा गरिदिने कार्यक्रम ल्याएको छ।
नगर कार्यपालिकाको १९औँ नगरसभाले सामाजिक न्यायलाई केन्द्रमा राख्दै ‘दलित–शिशुलाई एक लाख’ कार्यक्रम घोषणा गरेको नगरप्रमुख महेश खरेलले बताए। स्थानीय तहमा पहिलोपटक यस्तो कार्यक्रम ल्याइएको नगरपालिकाको दाबी छ।
नगरपालिकाले सदियौँदेखि दलित समुदायले भोग्दै आएको सामाजिक विभेदप्रति सार्वजनिक रूपमा माफीसमेत मागेको छ। विगतका सामाजिक अन्यायलाई सम्बोधन गर्दै दलित समुदायको आर्थिक सशक्तीकरणका लागि कार्यक्रम अघि बढाइएको नगरपालिकाले जनाएको छ।
कार्यक्रमअन्तर्गत पाँचखाल नगरभित्र जन्मिने प्रत्येक दलित परिवारका नवजात शिशुको नाममा नगरपालिकाले रु एक लाख बैंक खातामा जम्मा गर्नेछ। शिशु १८ वर्ष नपुगेसम्म उक्त रकम झिक्न पाइने छैन। १८ वर्षपछि भने उच्च शिक्षा, सीप विकास तथा भविष्य निर्माणमा रकम प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
यदि शिशुको १८ वर्षअघि नै मृत्यु भएमा बैंक खातामा जम्मा गरिएको रकम उसकी आमालाई उपलब्ध गराइने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।
नगरप्रमुख खरेलले दलित समुदायका बालबालिकाको दीर्घकालीन हितलाई ध्यानमा राखेर कार्यक्रम ल्याइएको बताए। उनका अनुसार बालबालिकाको भविष्य सुरक्षित गर्नुका साथै दलित समुदायको आर्थिक सशक्तीकरण, गरिबीका कारण उत्पन्न हुने निराशा र सामाजिक असमानता घटाउन कार्यक्रमले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
“पाँचखालका दलित समुदायका बालबालिकाको हितका लागि यस्तो कार्यक्रम ल्याएका हौँ,” खरेलले भने।



