काठमाडौं । बंगालको खाडीमा बन्न लागेको न्यूनचापीय प्रणालीका कारण असोज ९ देखि ११ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको प्रभाव बढी देखिन सक्ने अनुमान छ।
भारी वर्षासँगै बाढी, पहिरो, डुबान र गेग्य्रान बहावको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ। जोखिमयुक्त खोला, नदी किनार र पहिरो सम्भावित क्षेत्रमा बसोबास गर्नेले विशेष सतर्कता अपनाउनुपर्नेछ।
वर्षाका बेला के गर्ने ?
अत्यावश्यक नभई टाढा र रातिको यात्रा नगर्ने, बाढी आउन सक्ने खोला, खहरे र नदी किनारमा नजाने, पहिरोको जोखिम भएका क्षेत्रमा नबस्ने र मौसम तथा विपद्सम्बन्धी सूचना निरन्तर हेर्ने।
हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले पदयात्री तथा पर्वतारोहीलाई यात्रा स्थगित गर्न वा सम्भव भएसम्म सुरक्षित स्थानतर्फ फर्कन सुझाव दिइएको छ।
पाक्न लागेको धान भएका किसानले खेतमा पानी निकासको व्यवस्था गर्न र मौसम सफा भएपछि मात्र धान काट्न कृषि अनुसन्धान परिषद्ले आग्रह गरेको छ।
वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोगका लागि १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी १११४ मा सम्पर्क गर्न सकिन्छ।



