images
images

शुक्रबारदेखि आइतबारसम्म हावाहुरीसहित भारी वर्षाको सम्भावना


  • 100
    SHARES
  • २०८३ आश्विन ६ गते मंगलबार

    शुक्रबारदेखि आइतबारसम्म हावाहुरीसहित भारी वर्षाको सम्भावना

    काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित अति भारी वर्षा हुन सक्ने जनाएको हो ।

    महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

    उत्तर अण्डमान सागर तथा आसपास विकसित न्यून चापीय क्षेत्र अहिले बङ्गालको खाडीको मध्य भागमा पुगेको छ । उक्त प्रणाली थप शक्तिशाली हुँदै गहिरो न्यून चापीय क्षेत्रमा परिणत भइरहेको र पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै गएको महाशाखाले जनाएको छ ।

    यसको प्रभाव बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा देखिने र वर्षा हुने पूर्वानुमान गरिएको छ ।

    सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी तथा पहिरोको जोखिम बढ्नुका साथै शहरी र तराई क्षेत्रका केही स्थानमा डुबान हुन सक्ने महाशाखाले जनाएको छ । त्यसैले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

    वर्षाका कारण नदी, खोला तथा नालामा पानीको बहाव बढ्न सक्ने भएकाले दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने महाशाखाको चेतावनी छ ।

    यसैगरी हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


    images
    images

    Logo