images
images

त्रिपुरेश्वर बस आगलागीः मृतक चालकको पहिचान खुल्यो, अरूको नाममा लाइसेन्सदेखि बैंक खातासम्म प्रयोग


  • 79
    SHARES
  • २०८३ आश्विन ६ गते मंगलबार

    त्रिपुरेश्वर बस आगलागीः मृतक चालकको पहिचान खुल्यो, अरूको नाममा लाइसेन्सदेखि बैंक खातासम्म प्रयोग

    काठमाडौँ, ६ असोजः त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ। मृतक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-सिस्नेरीका अर्जुन दोङ तामाङ रहेको प्रहरीले जनाएको छ।

    रिद्धिसिद्धी यातायातको बा५ख ४२७४ नम्बरको बस त्रिपुरेश्वर बस स्टप नजिक आगलागी हुँदा गम्भीर घाइते भएका तामाङको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेले बताए।

    प्रहरी अनुसन्धानमा तामाङले आफ्नै नामको सट्टा विभिन्न व्यक्तिका नाममा जारी भएका सवारीचालक अनुमतिपत्र र अन्य कागजात प्रयोग गर्दै आएको खुलेको छ।

    प्रहरीका अनुसार २०८२ कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा समेत तामाङ संलग्न थिए। उक्त घटनापछि उनी फरार रहेका थिए। त्यसबेला उनले सुनिल तामाङको नाममा जारी लाइसेन्स प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ।

    त्यस्तै, करिब तीन महिनाअघि काठमाडौँको मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा उनले दाबा तामाङको नाममा जारी लाइसेन्स प्रयोग गरेको प्रहरीको भनाइ छ। त्रिपुरेश्वर बस आगलागीको घटनामा पनि उनले अर्कै व्यक्तिको नाममा रहेको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको परिसरले जनाएको छ।

    अनुसन्धानका क्रममा तामाङले अरू व्यक्तिको नाममा रहेको बैंक खाता र नागरिकतासमेत प्रयोग गरेको हुनसक्ने खुलेको प्रहरीले जनाएको छ।

    विभिन्न व्यक्तिका नाममा जारी परिचयपत्र, लाइसेन्स तथा अन्य कागजात प्रयोग गर्नुको कारण र त्यससँग जोडिएका घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




    images
    images

    Logo