images
images

मलेसियाको रोजगारीमा सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको जोड


  • 72
    SHARES
  • २०८३ आश्विन ६ गते मंगलबार

    मलेसियाको रोजगारीमा सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको जोड

    काठमाडौँ, ६ असोजः प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच नेपालबाट मलेसिया जाने श्रमिकको रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा टेलिफोन वार्ता भएको छ।

    आज बिहान भएको कुराकानीमा प्रधानमन्त्री शाहले मलेसियाको रोजगारी क्षेत्रमा देखिएको सिन्डिकेट र विचौलिया प्रथाप्रति असन्तुष्टि जनाउँदै यस्तो प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

    प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार शाहले नेपाली श्रमिकलाई अनावश्यक आर्थिक भार र शोषणमा पार्ने प्रवृत्तिको स्थायी समाधान खोज्न दुवै देशबीच संयुक्त पहल आवश्यक रहेको बताएका छन्।

    शाहले नेपाल र मलेसियाका श्रममन्त्रीलाई प्रत्यक्ष वार्तामा बसाएर सिन्डिकेट र विचौलियातन्त्र अन्त्यका लागि ठोस कदम चाल्न आग्रह गरेका छन्।

    “हामीलाई सिन्डिकेट र विचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन। यसले श्रमिकलाई मारमा पारेको छ,” शाहले भने, “त्यसैले दुवै देशका श्रममन्त्रीलाई प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्छु।”

    शाहको प्रस्तावप्रति सकारात्मक धारणा राख्दै मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि सिन्डिकेट र विचौलिया प्रथाको विरोधमा आफू स्पष्ट रहेको बताएका छन्।

    इब्राहिमले यस विषयमा मलेसियाका श्रममन्त्रीलाई तत्काल नेपाली समकक्षीसँग समन्वय गरी छलफल अघि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएका छन्। “यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्णविरुद्धमा छु। म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु,” इब्राहिमले भने।




    images
    images

    Logo