images
images

१३ वर्ष साउदीमा बिताए, फर्किएर गाईभैँसी पाल्दा महिनामै एक लाख बचत


  • 164
    SHARES
  • २०८३ आश्विन ५ गते सोमबार

    १३ वर्ष साउदीमा बिताए, फर्किएर गाईभैँसी पाल्दा महिनामै एक लाख बचत

    म्याग्दी, ५ असोज: १३ वर्ष साउदी अरबमा सवारी चालकका रूपमा काम गरेका पर्वतको जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्री अहिले आफ्नै गाईभैँसी फार्ममा व्यस्त छन्। तीनवटा गाईभैँसीबाट सुरु गरेको व्यवसाय विस्तार गर्दै उनले अहिले दूध बेचेरै मासिक एक लाख रुपैयाँभन्दा बढी बचत गर्न थालेका छन्।

    साउदीमा बिरामी भएपछि स्वदेश फर्किएका क्षेत्रीले रोजगारीको अन्य विकल्प नदेखेपछि विसं २०७३ मा ‘गोमा गाईभैँसी फार्म’ सुरु गरेका थिए। सुरुआतमा तीनवटा पशुबाट थालेको व्यवसायमा अहिले १४ वटा गाईभैँसी छन्।

    फार्मबाट दैनिक करिब ९० लिटर दूध उत्पादन हुन्छ। प्रतिलिटर औसत ३० रुपैयाँका दरले दैनिक करिब दुई हजार ७०० रुपैयाँको दूध बिक्री हुने गरेको छ। पशुको दाना, औषधि, व्यवस्थापनलगायत खर्च कटाएर मासिक एक लाख रुपैयाँभन्दा बढी बचत हुने क्षेत्रीले बताए। दूधसँगै उनले मोही, पनिर र घिउसमेत उत्पादन गरेर बिक्री गर्दै आएका छन्।

    “अहिले व्यवसायमा घाटा छैन। मिहिनेत गर्नुपर्छ, त्यसअनुसार आम्दानी पनि हुन्छ,” क्षेत्रीले भने, “पहिला पैसा र व्यक्तिगत खर्चका लागि अरूको भर पर्नुपथ्र्यो। अहिले आफ्नै व्यवसायबाट घरखर्च चलाउनुका साथै बचत गर्न सकेको छु।”

    पशुपालनबाट भएको आम्दानीले क्षेत्रीले तीन छोराछोरीलाई विदेश पठाउँदा लागेको ऋणसमेत तिरेका छन्। व्यवसाय विस्तार गर्ने क्रममा करिब ६० लाख रुपैयाँसम्म ऋण लागेको भए पनि फार्मबाट नियमित आम्दानी हुन थालेपछि ऋण व्यवस्थापन गर्न सहज भएको उनले बताए।

    फार्ममा क्षेत्री र उनकी श्रीमती गोमा स्वरोजगार छन् भने एक जनालाई रोजगारीसमेत दिएका छन्। व्यवसायमा चुनौती पनि कम छैनन्। कोरोना महामारीका बेला बजारमा दूध पुर्‍याउन नसक्दा ठूलो परिमाणमा दूध खेर गएर घाटा व्यहोर्नुपरेको क्षेत्रीले बताए।

    सुरुआती दिनमा पशुपालनसम्बन्धी ज्ञान र व्यावसायिक योजना नहुँदा पनि उनले धेरै समस्या भोगे। पछिल्लो समय गण्डकी प्रदेश सरकार र दायित्व संस्थामार्फत जलजला गाउँपालिकामा सञ्चालित वृद्धिमुखी उद्यमशीलता विकास परियोजनाबाट प्राविधिक ज्ञान, सीप र अनुदान पाएपछि भने फार्मको व्यवस्थापनमा सुधार आएको छ।

    तालिम र व्यावसायिक ज्ञान पाएपछि पशुपालनलाई व्यवस्थित रूपमा अघि बढाउन सहज भएको क्षेत्रीले बताए। सुरुमा छिमेकी र आफन्तले समेत व्यवसाय चल्न नसक्ने भन्दै विश्वास नगरे पनि निरन्तर मिहिनेत, अनुभव र बजारको माग बुझ्दै जाँदा व्यवसायप्रतिको विश्वास बढेको उनको भनाइ छ।

    “पहिला धेरैले यो व्यवसाय चल्दैन भन्थे। आफूलाई पनि पशुपालनको ज्ञान थिएन,” क्षेत्रीले भने, “तर विस्तारै सिक्दै, अभिलेख राख्दै र बजार बुझ्दै गएपछि व्यवसायप्रति विश्वास बढ्यो।”

    फर्से र लस्तीका किसानले उत्पादन गरेको दूध सङ्गम दूध उत्पादन तथा कृषि सहकारी संस्थाले सङ्कलन गरेर बागलुङमा बिक्रीको व्यवस्था मिलाएको छ। सहकारीका सचिव खड्ग केसीका अनुसार ४० किसानबाट दैनिक ६०० देखि ८०० लिटरसम्म दूध सङ्कलन गरी बागलुङ पुर्‍याएर बिक्री गर्ने गरिएको छ।

    जलजला गाउँपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ भने प्रदेश सरकारअन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सहकारीमार्फत प्रतिलिटर पाँच रुपैयाँका दरले अनुदान दिने गरेको छ।

    अब क्षेत्रीको लक्ष्य फार्ममा गाईभैँसीको सङ्ख्या बढाएर ३० पुर्‍याउने हो। उत्पादन बढाउनुका साथै दूधबाट बन्ने विभिन्न परिकारको उत्पादन र बजारीकरण विस्तार गर्ने योजना उनले बनाएका छन्। तर पशुपालनका लागि दक्ष कामदार पाउन कठिन हुनु मुख्य चुनौती रहेको उनको भनाइ छ। गाईभैँसीको नियमित हेरचाह, दानापानी र सरसफाइमा निरन्तर श्रम आवश्यक पर्ने भएकाले दक्ष जनशक्तिको अभावले समस्या हुने गरेको उनले बताए।

    विदेशमा १३ वर्ष बिताएर स्वदेश फर्किएका क्षेत्रीका लागि अहिले गाईभैँसी फार्म वैकल्पिक रोजगारी मात्र बनेको छैन, परिवारको आर्थिक अवस्था बदल्ने आधारसमेत बनेको छ। तीनवटा गाईभैँसीबाट सुरु भएको व्यवसायले अहिले नियमित आम्दानीको स्रोतको रूप लिएको छ।




    images
    images

    Logo