सुनसरी, ५ असोजस् बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र कटानमा पाँच–सात बिघा जमिन गुमाइसकेका छन्। चार दशकदेखि यही ठाउँमा बस्दै आएका माझीसँग अहिले आफ्नै नाममा जमिनसमेत छैन। हरेक बर्खा कोशीको बहाव बढेसँगै उनको त्रास पनि बढ्छ।
“कति बेला कोशी आउँछ र बगाउँछ भन्ने टुङ्गो हुँदैन। अहिले त्रासमा बस्नुपरेको छ,” माझीले भने, “असारदेखि नै कटान सुरु भयो। राति पनि कोशीमा ठूलो बाढी आयो कि भनेर हेर्न जानुपर्छ। कहिलेकाहीँ जाग्राम नै बस्नुपर्छ।”
सुनसरीको सप्तकोशी किनारका बस्तीका लागि बाढीसँगै नदीको तीव्र कटान ठूलो चुनौती बनेको छ। विशेषगरी बराहक्षेत्र नगरपालिका–६ र ९ का श्रीलङ्का तथा चिलिया टप्पुका बासिन्दा वर्षेनी बाढी र कटानको दोहोरो जोखिममा छन्। नदीले खेतीयोग्य जमिन र बस्ती कटान गर्दै लगे पनि यसको दीर्घकालीन समाधान हुन सकेको छैन।
बराहक्षेत्र–६ का पदम राईका अनुसार उनीहरू पहाडबाट बसाइँ सर्दा कोशी नदी बस्तीबाट धेरै टाढा थियो। अहिले नदी बस्ती नजिकै आइपुगेको छ। एक बिघा जमिनमा धान र मकै खेती तथा गाईभैँसी पालेर जीविकोपार्जन गर्दै आएका राईको खेती र घर हरेक बर्खामा जोखिममा पर्छ।
“तीन महिनादेखि नै कटान सुरु भएको छ। हामी श्रमदान गरेर बालुवा र सिमेन्टका बोरा राखेर किनार जोगाउने प्रयास गरिरहेका छौँ,” राईले भने, “तर ठूलो बाढी आयो भने यो प्रयासले धान्न सक्दैन। यो स्थायी समाधान होइन।”
कटान बढेपछि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरी मिलेर अस्थायी तटबन्ध निर्माण गरिरहेका छन्। सप्तकोशी कटान नियन्त्रण समितिका अध्यक्ष जयकुमार माझीका अनुसार कटानका कारण श्रीलङ्का र चिलिया टप्पुका बस्ती झन् जोखिममा पर्दै गएका छन्।
कटान नियन्त्रणका लागि निर्माण गरिएका करिब १८ मध्ये नौ वटा स्पर पूर्ण रूपमा क्षतिग्रस्त भइसकेका छन्। बाँकी स्परसमेत नदीको कटानमा पर्दै छन्। स्थानीयले बाँस गाड्ने, डोरीले बाँध्ने र बालुवा भरिएका बोरा राख्नेलगायत उपाय अपनाइरहेका छन्। तर यस्ता उपाय तत्कालका लागि मात्र उपयोगी भएकाले दीर्घकालीन रूपमा बलियो तटबन्ध आवश्यक रहेको माझीले बताए।
सप्तकोशीले धार परिवर्तन गरेर बनाएको चिलिया टापुमा अहिले पनि हजारौँ मानिस बस्छन्। बराहक्षेत्र–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–१, २ र ३ सम्म फैलिएको क्षेत्रमा यस वर्ष पनि नदीले तीव्र कटान थालेपछि सयौँ परिवार जोखिममा छन्। पश्चिमी भँगालोले निरन्तर कटान गरेपछि करिब ६०० घरपरिवार उच्च जोखिममा रहेको स्थानीयको भनाइ छ। केही दिनअघि करिब २२ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने केही परिवार अझै चौरमा टहरा बनाएर बसेका छन्।
बराहक्षेत्र–६ का राकेशकुमार महतोले सप्तकोशीको कटानमा करिब चार बिघा जमिन गुमाए। अहिले अरूको जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन्। करिब १० कट्ठामा टमाटर, बोडी, साग र भिन्डीलगायत तरकारी लगाएका महतोसँग अब पशुपालन गर्ने जमिनसमेत छैन।
“पहिला करिब चार बिघा जग्गा थियो। सबै सप्तकोशीले लग्यो। अहिले आफ्नो जग्गा छैन, अरूको जग्गा भाडामा लिएर खेती गरिरहेको छु,” महतोले भने, “अहिले बसिरहेको यो सानो घर पनि कुन दिन कोशीले बगाएर लैजाला भन्ने डर छ।”
उदयपुरको बेलका नगरप्रमुख अशोक कार्कीका अनुसार संरक्षणका केही कामले राहत दिए पनि तल्लोतटीय क्षेत्रमा कटान रोकिएको छैन। नदी पश्चिमतर्फ मोडिँदै गएकाले बाक्लो बस्ती भएका क्षेत्रमा जोखिम थपिएको उनले बताए। असारदेखि सुरु भएको कटान बलौटे माटोका कारण तीव्र बन्दै गएको छ।
बराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले कटान नियन्त्रणका लागि नगरपालिकाले जेसिबी, ट्र्याक्टर, बालुवा, जाली, बोरा र सिमेन्टलगायत सामग्री परिचालन गरेर काम गरिरहेको बताए। कटानबाट विस्थापित परिवारलाई नगरपालिकाले तत्कालका लागि प्रतिपरिवार १० हजार रुपैयाँसमेत उपलब्ध गराएको छ।
“कोशीको कटान यहाँको मात्र समस्या होइन, राष्ट्रिय सरोकारको विषय हो,” कार्कीले भने, “नगरपालिकाको सीमित बजेट र स्रोतसाधनले बर्सेनि दोहोरिने कटानको स्थायी समाधान सम्भव छैन। वैज्ञानिक अध्ययनका आधारमा दीर्घकालीन संरचना निर्माण आवश्यक छ।”
उनका अनुसार उपयुक्त स्थानमा ड्याम, स्पर तथा अन्य नदी नियन्त्रणका संरचना निर्माण गर्न सके कटान धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ। जोखिम बढ्दै गएमा ठूलो जनधनको क्षति हुन सक्ने भएकाले सङ्घीय सरकारको पर्याप्त बजेट र आवश्यक परे छिमेकी मुलुकसँग समेत पहल गर्नुपर्ने उनको भनाइ छ।
नदी कटान बढेपछि श्रीलङ्का टप्पुका केही परिवार यस वर्ष प्रकाशपुर तथा झापातर्फ बसाइँ सरिसकेका छन्। बालीचरण कविरथ पनि प्रकाशपुर सर्ने तयारीमा छन्।
“धन्न जसोतसो गरेर प्रकाशपुरमा एक कठ्ठा जग्गा जोडिएको छ। अब हामी पनि त्यतै सर्ने तयारी गर्दैछौँ,” कविरथले भने, “यहाँ कोशीले कटान गरिरहेको छ, ज्यान जोखिममा राखेर बस्नु हुँदैन।”
करिब तीन हजार जनसङ्ख्या रहेको श्रीलङ्का टप्पुका अधिकांश परिवारको जीविकोपार्जन कृषि र पशुपालनमा आधारित छ। धान, मकै, तरकारी, पशुपालन तथा दुग्ध उत्पादन यहाँको अर्थतन्त्रका मुख्य आधार हुन्। तर हरेक बर्खामा बाढी र कटानको जोखिम बढ्दा स्थानीयको वर्षभरको मिहेनत र भविष्य दुवै नदीको भेलसँगै बग्ने चिन्ता उस्तै छ।
स्रोत सङ्गीता राई/ रासस



