काठमाडौं । बंगालको खाडीबाट विकसित ‘अर्नब’ चक्रवात भारतको आन्ध्र प्रदेश र ओडिसाको तटमा प्रवेश गरेको छ । मौसम विभागका अनुसार चक्रवात सेप्टेम्बर २३ राति ११ बजेदेखि सेप्टेम्बर २४ राति १ बजेको बीचमा आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लास्थित कलिंगपट्टनमको दक्षिण–पश्चिमी तटबाट जमिनमा प्रवेश गरेको हो ।
चक्रवातको प्रभावले आन्ध्र प्रदेश र ओडिसाका विभिन्न क्षेत्रमा भारी वर्षा र तीव्र हावाहुरी भइरहेको छ । कलिंगपट्टनम आसपास ७५ किलोमिटर प्रतिघण्टासम्मको गतिमा हावा चलेको छ । विजयवाडामा बिहानैदेखि निरन्तर वर्षा हुँदा तल्लो भूभाग जलमग्न भएका छन् भने केही विद्यालयमा लगातार दोस्रो दिन पनि बिदा दिइएको छ ।
ओडिसामा चक्रवातको जोखिमलाई ध्यानमा राख्दै करिब ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । दक्षिणी जिल्लामा भारी वर्षाका कारण पुल तथा सडकमा क्षति पुगेको छ । मलकानगिरीमा केही पुल बगेका छन् भने कतिपय पुलमाथि ३ देखि ४ फिटसम्म पानी बगिरहेको बताइएको छ । कम्तीमा सात जिल्लामा विद्यालय बन्द गरिएको छ भने ११ जिल्लाका प्रशासनलाई राहत तथा उद्धारको तयारीमा रहन निर्देशन दिइएको छ ।
मौसम विभागका अनुसार चक्रवात पछिल्लो ६ घण्टामा करिब ३ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढेको थियो । यसको प्रभाव पश्चिम बंगालका केही क्षेत्रमा समेत पर्ने अनुमान गरिएको छ । दार्जिलिङ र कलिम्पोङमा सम्भावित पहिरोको जोखिमलाई ध्यानमा राख्दै चेतावनी जारी गरिएको छ ।



