भक्तपुर, असोज ७ । सूर्यविनायक नगरपालिकाले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपाल २२ नं. गण हेडक्वार्टर गुहेश्वरी, भक्तपुरलाई राफ्ट बोट र लाइफ ज्याकेट उपलब्ध गराएको छ।
नगरपालिकाले एक थान राफ्ट बोट र पाँच थान लाइफ ज्याकेट सशस्त्र प्रहरीलाई हस्तान्तरण गरेको हो। नगर प्रमुख बासुदेव थापा र प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले सशस्त्र प्रहरी उपरीक्षक बासुदेव महतलाई उद्धार सामग्री हस्तान्तरण गरे।
नगर प्रमुख थापाले विपद्का समयमा स्थानीयको उद्धार गरी धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले सशस्त्र प्रहरीलाई आवश्यक सामग्री उपलब्ध गराइएको बताए।
“विपद्का बेला तत्काल उद्धारमा खटिने सुरक्षा निकायलाई आवश्यक साधनस्रोत उपलब्ध गराएर स्थानीयको ज्यान जोगाउनु र धनजनको क्षति न्यूनीकरण गर्नु नगरपालिकाको प्राथमिकता हो,” उनले भने, “सुरक्षा निकायसँगको समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउँदै विपद् प्रतिकार्यलाई व्यवस्थित बनाउनेछौँ।”
प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले विपद् व्यवस्थापनका लागि पूर्वतयारी आवश्यक रहेकाले उद्धारमा प्रत्यक्ष प्रयोग हुने सामग्री उपलब्ध गराइएको बताए। “विपद् आएपछि मात्रै उद्धार सामग्री खोज्नेभन्दा पूर्वतयारी अवस्थामा आवश्यक उपकरण तयार राख्नुपर्छ। सशस्त्र प्रहरीसँग रहेको जनशक्ति र नगरपालिकाको स्रोतसाधनलाई जोडेर उद्धार कार्यलाई छिटो र सुरक्षित बनाउन यो सहयोग गरिएको हो,” उनले भने।
सशस्त्र प्रहरी उपरीक्षक बासुदेव महतले विपद्का समयमा तत्काल उद्धार तथा खोजी कार्य सञ्चालन गर्न राफ्ट बोट र लाइफ ज्याकेट उपयोगी हुने बताए।
“बाढी, डुबानलगायतका विपद्का घटनामा उद्धारका लागि आवश्यक पर्ने सामग्री प्राप्त भएको छ। यसले विपद्का बेला तत्काल उद्धारमा खटिन र जोखिममा परेकाको सुरक्षित उद्धार गर्न थप सहयोग पुग्नेछ,” उनले भने।
नगरपालिकाका अनुसार बाढी, डुबान तथा अन्य जलजन्य विपद्का समयमा राफ्ट बोट र लाइफ ज्याकेट प्रयोग गरी खोज तथा उद्धार कार्य सञ्चालन गर्न सकिनेछ। नगर प्रहरी प्रमुख वीरबहादुर अधिकारीसहित नगर प्रहरीको टोली पनि हस्तान्तरण कार्यक्रममा सहभागी थियो।
सूर्यविनायक नगरपालिका र सुरक्षा निकायबीचको समन्वय तथा सहकार्यलाई थप सुदृढ गर्दै विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने नगरपालिकाले जनाएको छ।



