images
images

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बनाउने मुख्यमन्त्री थापाको योजना


  • 90
    SHARES
  • २०८३ आश्विन ७ गते बुधबार

    भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बनाउने मुख्यमन्त्री थापाको योजना

    भक्तपुर, ७ असोजः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्रका रूपमा विकास गर्ने बताएका छन्। उनले भक्तपुरवासीले उपचारका लागि काठमाडौँ वा धुलिखेल धाउनुपर्ने अवस्था अन्त्य गर्ने गरी स्वास्थ्य सेवाको विस्तारलाई प्राथमिकतामा राख्ने बताए।

    भक्तपुरको बागमती क्लबले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापाले भक्तपुरमा उपलब्ध स्वास्थ्य संस्थाबीच समन्वय गरी विशेषज्ञ सेवा विस्तार गर्ने योजना सुनाए।

    “भक्तपुरवासी कुनै पनि रोगको उपचारका लागि काठमाडौँ वा धुलिखेल जान नपर्ने अवस्था बनाउने मेरो लक्ष्य हो,” उनले भने, “भक्तपुर, ख्वप, सूर्यविनायक नगर, नेपाल कोरियामैत्री नगर अस्पताल, क्यान्सर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र, क्षयरोग अस्पताल तथा निजी अस्पतालसँग समन्वय गरेर प्रत्येक अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गर्ने योजना छ।”

    उनले आगामी दुई–तीन महिनाभित्रै अस्पतालसँग समन्वय गरी विशेषज्ञ सेवा विस्तारको काम अघि बढाउने बताए।

    मुख्यमन्त्री थापाले भक्तपुरमा सबै तहको अध्ययन गर्न सकिने वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको बताए। उनले शिक्षा क्षेत्रमा भक्तपुरको पहिचान अझ बलियो बनाउने गरी काम गर्ने बताए।

    पर्यटनतर्फ भक्तपुरका विभिन्न क्षेत्रलाई जोडेर पर्यटकीय गतिविधि विस्तार गर्ने योजना पनि उनले सुनाए। पर्यटकका लागि आवश्यक जनशक्ति तयार गर्न टुरिस्ट गाइड तालिम सञ्चालन गरी रोजगारीका अवसर बढाउने उनको भनाइ छ।

    “भक्तपुरमा टुरिस्ट गाइड तालिम दिएर रोजगारी बढाउने र भक्तपुर, चाँगुनारायण, नगरकोट, रानीकोट, सूर्यविनायक र मध्यपुरथिमिलगायत क्षेत्रलाई जोडेर पर्यटन विकास गर्ने योजना छ,” उनले भने, “भक्तपुरलाई पर्यटकको केन्द्र बनाउने गरी काम गरिरहेको छु।”




    images
    images

    Logo