काठमाडौं । भोटेकोशीसहित विभिन्न नदीमा आएको बाढीले जलविद्युत् आयोजना र ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि राष्ट्रिय प्रसारण प्रणालीबाट ४१० मेगावाट विद्युत् गुमेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रतिनिधिसभाको बैठकमा बाढी तथा विपद्बाट ऊर्जा क्षेत्रमा पुगेको क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै पुनरुत्थानका लागि करिब ३ खर्ब ९० अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने अनुमान गरिएको जानकारी दिएका हुन् ।
बाढीबाट माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ए, रसुवागढीलगायतका जलविद्युत् आयोजना प्रभावित भएका छन् । ऊर्जा मन्त्रालयका अनुसार भौतिक संरचनामा भएको क्षतिका कारण ११ वटा विद्युत् केन्द्र बन्द भएका छन् भने निर्माणाधीन ६ वटा आयोजनामा पनि गम्भीर क्षति पुगेको छ ।
विपद्का कारण विभिन्न आयोजनामा कार्यरत नेपाल विद्युत् प्राधिकरणका ४७ कर्मचारीसहित ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ ।
सरकारले सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै, सम्बन्धित परिवारलाई ६ महिनासम्म आधा तलब उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।
बाढीबाट प्रभावित विद्युत् उपभोक्तालाई राहतस्वरूप महसुल मिनाहा गर्ने तथा निःशुल्क मिटर उपलब्ध गराउने व्यवस्था गरिएको छ । रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोगमार्फत विद्युत् सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।



