धादिङ । अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ ।
जल तथा मौसम विज्ञान विभागले धादिङसहित आसपासका क्षेत्रमा आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्णय गरेको हो ।
प्रशासनका अनुसार आज राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन बन्द रहनेछ । प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)द्वारा जारी सूचनामा मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको छ ।
साथै, सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न प्रशासनले यात्रु तथा सवारी चालकलाई अनुरोध गरेको छ ।




