काठमाडौं । नेपाल एन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी अहिले १६ अर्ब २५ करोड ७३ लाख रुपैयाँ छ भने बजारमा अन्तिम कारोबार मूल्य ४ सय ६० रुपैयाँ छ । हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ छ । यसको अन्तिम कारोबार मूल्य ४ सय ८४ रुपैयाँ छ ।
यो मूल्य र चुक्ता पुँजीको आधारमा इन्भेष्टमेन्ट बैंकको कुुल बजार पुँजीकरण ७४ अर्ब ७८ करोड ३७ लाख रुपैयाँ छ । हिमालयनको पुँजीकरण ५१ अर्ब ७१ करोड २५ लाख रुपैयाँ छ ।
कतिमा खुल्छ कारोबार ?
यी दुई संस्थाबीच १ः१ अनुपातको स्वाप रेसियोका आधारमा मर्जर हुन लागेकोले दुई कम्पनी एकीकृत कारोबार भइसकेपछिको बजार पुँजीकरणमा परिवर्तन हुँदैन अर्थात् अहिले दुई कम्पनीको बजार पुँजीकरणलाई जोडेर आउने पुँजीकरण नै अबको कुल बजार पुँजीकरण हुन्छ ।
दुई कम्पनीको कुल पुँजीकरण जोड्दा १ खर्ब २६ अर्ब ५० करोड हुन आउँछ । त्यस्तै, नयाँ बैंकको चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ हुन आउँछ । यो पुँजीकरण र चुक्ता पुँजीको आधारमा नयाँ बन्ने बैंकको पहिलो बजारमूल्य करिब ४ सय ७० रुपैयाँ हुन आउँछ । यही विन्दुुलाई आधार बनाएर नेप्सेले पहिलो कारोबारको ओपन रेञ्ज तय गर्छ ।
पछिल्लो कारोबार अनुसार इन्भेष्टमेन्ट बैंकको कारोबार ४ सय ६० रुपैयाँ र हिमालयन बैंकको शेयर कारोबार ४ सय ८४ रुपैयाँमा भएको कारणले नयाँ बैंकको पहिलो मूल्य हिमालयन बैंकको शेयरधनीको लागि १४ रुपैयाँ नोक्सान र इन्भेष्टमेन्ट बैंकको शेयरधनीको लागि १० रुपैयाँ नाफाका अवस्था देखिन्छ ।


