भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले गरेका विकास निर्माणका कार्य बारेमा आज सञ्चारकर्मीहरुले अनुगमन र अध्ययन गरेका छन् । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा सञ्चारकर्मीले उत्कृष्ठ ५ वटा आयोजनाको अवलोकन गरेका हुन् ।
यस क्रममा फागुन ७ गतेदेखि सञ्चालनमा आएको जगातीस्थित सूर्यविनायक नगर अस्पताल, वडा नं १० को कार्यालय भवन, सडक, डोलेश्वर मन्दिर र सीपाडोल खानेपानी आयोजनाको अबलोकन गरिएको थियो ।

सो क्रममा नगरप्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, वडा अध्यक्षहरु किरण थापा, उपेन्द्र केसी, शिवराम राउत र नगरपालिकाका निर्देशक जनक न्यौपानेले स्थलगत अनुगमनका क्रममा सम्बन्धित क्षेत्रमा भएका विकास योजनाको बारेमा विस्तृत जानकारी दिएका थिए ।
सुर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले यो अवधिमा नगरपालिकाले यो क्षेत्रमा रहेको राष्ट्रिय प्राणी उद्यान, चित्तपोलमा झोलुङ्गे पुल, नगरभित्रको शिव सर्किट, हनुमन्ते करिडोर निर्माण लगायत सडक र पुल निर्माणमा महत्वपुर्ण काम सम्पन्न भएको बताइन् ।
त्यस्तै, वडा नम्बर ८ का वडाध्यक्ष किरण थापालेसूर्यविनायक नगर अस्पतालको निर्माण तथा सञ्चालनको बारेमा जानकारी दिए । भक्तपुर इँटा टायल कारखानाको २५ रोपनी क्षेत्रफलमा बनेको सो अस्पताल निर्माण गर्न हालसम्म ८ करोड ५० लाख रुपैयाँ खर्च भएको उनले बताए । सो अस्पतालमा भेन्टिलेटरसहित ४ शैय्याको आईसीयू, १० शैय्याको एचडीयू, १३ साधारण, १० शैय्याको आकस्मिक कक्ष रहेका उनले जानकारी दिए ।

अस्पतालमा एक्सरे, साधरण शल्यचिकित्सा, औषधी पसल, ओपीडी सेवा उपलब्ध रहेको र नेपाल सरकारको स्वास्थ्य बीमा सुविधा अन्तर्गतको उपचार समेत अस्पतालबाट उपलब्ध गराइने वडाध्यक्ष थापाको भनाइ छ ।
नगरपालिकाले नमुना वडा कार्यालयको रुपमा वडा नम्बर १० मा कार्यालय निर्माण गरेको छ । नगरपालिकाका निर्देशक जनक न्यौपानेका सो कार्यालय भवनको लागत १ करोड ६८ लाख रुपैयाँ रहेको छ ।
साढे ३ तलाको उक्त कार्यालय यही फागुन २१ गते उद्घाटन गर्ने तयारी गरिएको छ । सो कार्यालयबाट अहिले वडाले दिँदै आएका सबै सेवाका साथै वडाबाट भविष्यमा दिने सेवासमेत दिन सकिनेगरी पूर्वाधार तयार गरिएको उनको भनाइ छ ।

उता, केदानरनाथको शिरको रुपमा रहेको डोलेश्वर महादेवको मन्दिर संरक्षण तथा विकासमा समेत अहिले नगरपालिकाले गुरुयोजना बनाएर काम अघि बढाएको छ । वडा नम्बर ८ का वडाध्यक्ष थापाका अनुसार सो मन्दिरको निर्माणका लागि हालसम्म ५५ करोड लाग्ने अनुमान गरिएकोमा हालसम्म १२ करोड खर्च भइसकेको उनले बताए । गुरुयोजनाका लागि संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको सहलगानी एवं विभिन्न दाताको आर्थिक सहयोग समेत प्राप्त भएको उनको भनाइ छ ।

उता सहकारी मोडलमा सञ्चालन भएको सीपाडोल खानेपानी आयोजनाले समेत नगर क्षेत्रका झन्डै ८ सय घरका लागि दैनिक ३ घण्टादेखि २४ घण्टासम्म पानी आपूर्तिको व्यवस्थापन गर्दै आएको छ । यस आयोजना अन्तर्गतका सबै उपभोक्तालाई सहकारीमा अनिवार्य सहभागिता गराएर सहकारीमार्फत् आर्थिक उपार्जनका कामहरु समेत गरिएको छ ।

नगर अस्पतालबाट सुरु भएको उक्त अवलोकन भ्रमण डोलेश्वर मन्दिरमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय स्तरमा सक्रिय रुपमा कार्यरत ३० जना पत्रकारहरु सहभागी थिए ।


