images
images

सर्लाहीको नवलपुर सबस्टेसन उद्घाटन, विद्युत खपत बढाउन ऊर्जा मन्त्रीको आग्रह


  • 416
    SHARES
  • २०७८ चैत्र १ गते मंगलबार

    सर्लाहीको नवलपुर सबस्टेसन उद्घाटन, विद्युत खपत बढाउन ऊर्जा मन्त्रीको आग्रह

    सर्लाही ।  सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा  सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा निर्माण भएको १३२/३३ केभी सबस्टेसनको उद्घाटन भएको छ । सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरुलाई विद्युत उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेका हुन् ।

    उद्घाटन कार्यक्रममा उनले आम नेपाली जनताले उज्यालोका लागि मात्र नभएर खाना पकाउन, सिँचाइ गर्न, उद्योग कलकारखाना चलाउनका लागि प्रयोग गरी विद्युत खपत बढाउन आग्रह गरे ।

    तराई तथा मधेस क्षेत्रमा सिंचाइमा विद्युत खपतको प्रचुर सम्भावना देखेर नै सरकारले सिँचाइको विद्युत महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले सिंचाइका लागि पेट्रोलियम पदार्थबाट चल्ले उपकरणहरु विस्थापित गर्न आग्रह गरे ।

    उनले  भने सबस्टेसन सञ्चालनमा आएसँगै यस क्षेत्रमा गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति भई औद्योगिकरणमा सहयोग पुग्ने भएकाले त्यसतर्फ लाग्न आग्रह गरे । कार्यक्रममा सर्लाहीका संघीय सांसद प्रमोदकुमार साहले यस क्षेत्रका सबस्टेसनबाट विद्युत आपूर्ति हुन थालेपछि यस क्षेत्रका बासिन्दाले भरपर्दो र गुणस्तरीय विद्युत पाउन थालेको बताए । उनले विद्युतीकरण नभएका क्षेत्रमा तत्काल काम गर्न प्राधिकरणलाई आग्रह गरे ।

    ऊर्जा सचिव देवेन्द्र कार्कीले सर्लाहीबाट बत्ती जाने धेरै गुनासो आउने गरेकामा अब त्यस्ता समस्या समाधान भएको बताए । सरकारले महसुल घटाएकाले विद्युत चोरी गरी सिँचाइ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै कार्कीले चोरी नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मधेश प्रदेशको विद्युत आपूर्ति सुधार गर्न अहिले सबैभन्दा बढी लगानी भइरहेको उल्लेख गर्दै प्राधिकरणले आफ्नो आम्दानी घटाएर भए पनि सिँचाइ, औद्योगिक, खानेपानीलगायत आम घरायसी ग्राहकलाई महसुलमा सहुलियत दिएको बताए  । यसका साथै मधेश प्रदेशमा विद्युत चुहावट बढी नै हुने गरेकोले चुहावट नियन्त्रणमा सहयोग गरिदिन सबैलाई आग्रह गरे ।

    लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले नवलपुर सबस्टेसन सञ्चालनमा आएपछि यस क्षेत्र न्यून भोल्टेज र ट्रिपिङको समस्याबाट मुक्त भएको उल्लेख गर्दै सबस्टेसन आम उपभोक्ताका लागि बरदान भएको टिप्पणी गरे ।

    सबस्टेसनमा विद्युत आपूर्ति सुरु भएपछि सर्लाहीको विद्युत आपूर्ति विश्वसनीय र प्राविधिक चुहावट घटेको छ । यसअघि सर्लाहीमा ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत विद्युत आपूर्ति भइरहेको थियो । ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो भने विद्युत आपूर्तिमासमेत अवरोध हुँदै आएको थियो । 

    नवलपुर सबस्टेसनबाट सिधै विद्युत आपूर्ति हुन थालेपछि लाइन छोटो हुँदा चुहावट घट्छ, विद्युत आपूर्ति पनि विश्वसनीय र गुणस्तरीय बनेको छ । सर्लाहीमा खुल्ने उद्योगहरुलाई पर्याप्त विद्युत दिन सकिने छ ।

    पूर्व–पश्चिम १ सय ३२ केभी प्रसारण लाइन नवलपुर सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १ सय ३२ केभी लाइनबाट नवलपुर सबस्टेसनमा विद्युत आपूर्ति दिइएको छ ।  सबस्टेसनमा १ सय ३२/३३ केभी, ६३ एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताका दुईवटा  ट्रान्सफर्मर राखिएको छ । यही सबस्टेसनमार्फत सर्लाहीका हरिपुर र मलंगवा ३३/११ केभी वितरण सबस्टेसनहरुमा विद्युत आपूर्ति दिइएको छ ।


    सबस्टेसनको प्रारम्भिक काम आर्थिक वर्ष २०७४/७५ र मुख्य निर्माण आर्थिक बर्ष २०७५/७६मा सुरु गरिएको थियो । कोभिड–१९को महामारी कारण उपकरणहरु ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको थियो । सबस्टेसनको निर्माणको ठेक्का पावर टेक, भारत र वाइबा इन्फ्राटेक, नेपालको संयुक्त उपक्रम (जेभी)ले पाएको थियो ।


    images

    Logo