काठमाडौं । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ ।
चितवनको भरतपुर महानगरपालिका–११ आँपटारी स्थिति सबस्टेसनबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनमा सोमबार विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।
नवलपरासीको दुम्कीबासमा भइरहेको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरेको हो । ७४ किलोमिटर प्रसारण लाइनमा पर्ने २ सय ४६ वटा टावरमध्ये २ सय ४४ वटाको निर्माण गरी तार टाँगिएको छ ।
भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको लाइनलाई अरुण खोलामा ट्यापीङ गरी हाल सञ्चालनमा रहेको १ सय ३२ केभी प्रसारण लाइनमा जोडिएको छ । भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइनलाई अरुण खोलामा छुट्याएर भरतपुर–बर्दघाट २ सय २० केभीको लाइनसँग जोडिएको हो ।
भरतपुर सबस्टेसनबाट अरुणखोलासम्म २ सय २० केभीको नयाँ लाइनबाट र त्यसपछि १ सय ३२ केभीको पुरानो लाइनबाट बर्दघाट सबस्टेसनसम्म विद्युत प्रवाह हुने छ ।
अब अरुण खोला पूर्वतर्फका कावासोतीलगायतका क्षेत्रमा पुरानो १३२ केभी प्रसारण लाइनबाट प्रगतिनगर सबस्टेसनमार्फत विद्युत आपूर्ति हुने छ । ती क्षेत्रमा करिब २५ मेगावाट विद्युत खपत हुने गरेको छ ।
पुरानो १ सय ३२ केभी लाइनबाट कावासोती लगायतका क्षेत्रमा विद्युत आपूर्ति भएपछि सोमबारबाट सञ्चालनमा आएको लाइनमार्फत भरतपुरबाट बर्दघाटतर्फ करिब एक सय मेगावाट विद्युत सिधै पठाउन सकिने छ । अहिले भरतपुर–बर्दघाट १ सय ३२ केभी लाइनबाट कावासोती क्षे त्रमा विद्युत आपूर्ति गरी बाँकी विद्युत बर्दघाटतर्फ प्रवाह हुन्थ्यो ।
अहिले चालु रहेको भरतपुर–बर्दघाट १ सय ३२ केभी प्रसारण लाइन सिंगल सर्किट मात्रै छ । जसले गर्दा भरतपुरबाट बर्दघाटतर्फ करिब ८० मेगावाटभन्दा बढी विद्युत पठाउन नसकिने वाध्यात्मक अवस्था थियो । भरतपुर–बर्दघाट २ सय २० केभी प्रसारण लाइनको आंशिक खण्ड चार्ज गरी कावासोती लगायतका क्षेत्रको करिब २५ मेगावाट लोड सिफ्ट भएकोले भरतपुरबाट पश्चिमतर्फ थप विद्युत आपूर्ति गर्न सकिने भएको छ ।
भरतपुरबाट प्रगतिनगरसम्मको खण्ड चार्ज भएपछि अब भरतपुरबाट बर्दघाटतर्फ करिब २५ विद्युत थप पठाउन सकिने र यसबाट पश्चिम क्षेत्रको विद्युत आपूर्ति व्यवस्थापनमा सहज हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘भरतपुरतर्फ विद्युतको माग बढी रहेको तर हाल सञ्चालनमा रहेको १३२ केभी लाइनको क्षमतालाई नधानेर थप विद्युत पठाउन सकिरहेका थिएनौं, अब कावासोती क्षेत्रको लोड सिफ्ट गरिएकोले थप विद्युत बर्दघाटतर्फ पठाउन सक्छौं यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति व्यवस्थापनमा केही सहज भएको छ’,कार्यकारी निर्देशक घिसिङले भने । ‘
पश्चिम क्षेत्रमा विद्युत आपूर्तिका लागि टनकपुरबाट वाध्यात्मक रुपमा गर्नु पर्ने आयात घट्नुको साथै भोल्टेजमा पनि सुधार हुने छ ।’
नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा स्थानीयको अवरोध र सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण दुई वटा टावर बनाउन नसक्दा भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण पूरा हुन सकेको छैन । सर्वोच्च अदालतले आइतबार रिट खारेज गरिदिएकोले अब दुई वटा टावर निर्माणको बाटो खुलेको छ ।
प्रसारण लाइनको मार्गधिकार परिवर्तनको माग गदै स्थानीयले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका कारण लाइन निर्माणको काम २०७७ को चैतबाट रोकिएको थियो । सर्वोेच्च अदालतले रिट खारेज गरिदिएकाले अब अब मुआब्जा निर्धारणको प्रक्रिया सुरु गरी टावर निर्माण गरिने आयोजना प्रमुख सन्तोष साहले बताए ।


