काठमाडौं । पुँजी बजारको कारोबारबाट कमाएको आम्दानीमा कुनै पनि कर नलाग्ने भएको छ । बजेटसम्बत्रन्धी छलफलका क्रममा अर्थसचिव शिशिर ढुंगानाले बजारको कारोबारबाट लाग्ने भनी तोकिएको ५ प्रतिशत र ७ प्रतिशत कर नै अन्तिम भएको बताएका हुन् ।
सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् पुँजी बजारको पुँजीगत लाभकरलाई ५ प्रतिशतबाट बढाएर अल्पकालिन कारोबारीका लागि ७.५ प्रतिशत कायम गरेको थियो । यो कर आगामी साउन १ गतेदेखि लागु हुनेछ ।
१ वर्ष भन्दा बढी शेयर होल्ड गर्ने दीर्घकालीन अवधिका लगानीकर्ताले भने ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ ।
यदि यस्तो करलाई अन्तिम करमा गणना नगर्ने हो भने व्यक्ति तथा संस्थाले सामान्य आम्दानी अन्तर्गत व्यक्तिगत आयकर र संस्थागत आयकरमा यसलाई समावेश गर्नुपर्छ । तर, अन्तिम करको रुपमा व्याख्या गर्दा यस्तो आम्दानी सो दायरामा आउँदैन ।
यद्यपि यो अभ्यास नौलो भने होइन । अहिले पनि यस्तो करलाई अन्तिम लाभकरको रुपमा गणना गर्दै आइएको छ । तर, कर कार्यालयले कर चुक्ता प्रमाणपत्र दिन भने अहिले पनि आनाकानी गरिरहेको गुनासो सर्वसाधारणको हुने गरेको छ । यसले गर्दा बैंकबाट ऋण लिने प्रयोजनको लागि यो प्रक्रिया अझै असहज हुने गरेको छ ।


