काठमाडौं । मानिसको रुचि र क्षमता व्यक्ति अनुसार फरक फरक हुन्छ । तर जुन क्षेत्रमा मानिसको रमाउँछ, उसले त्यो क्षेत्रमा पूर्ण क्षमतामा काम गर्न सक्छ । त्यसले उसलाई सफल पनि बनाउँछ ।
नागार्जुन–६ की ३१ वर्षीय रञ्जना आचार्य पहिले शिक्षिका थिइन् । तर, उनलाई जागिर मन परेन । उनलाई आफ्नै व्यवसायमा रमाउने रुचि थियो । नभन्दै उनले ऋण लिएर पुष्प व्यवसाय सुरु गरिन् । २०६८ सालमा नागार्जुनको २० रोपनी जग्गा भाडामा लिएर खेती सुरु गरेकी उनले त्यसपछि पछाडि फर्केर हेर्नु परेको छैन । अहिले उनले ६० रोपनीमा खेती गरिरहेकी छिन् ।
उनको फर्ममा अहिले गुलाब, जरबेरा, कानेसन लगायत फूलहरु उत्पादन हुन्छ । ती फूलहरु होटल, रेष्टुरेन्ट, गाडी डेकोरेशनका लागि प्रयोग हुने गरेका छन् । डेकोरेसनका लागि बढी प्रयोग हुने हुँदा बिहे, ब्रतबन्ध लगायत शुुभकार्य हुने समयमा यस्तो फूलको माग धेरै हुने उनको भनाइ छ ।
उनले अहिले वार्षिक ६० लाख भन्दा बढीको फूल बेच्छिन् । त्यसबाट मासिक १ लाख रुपैयाँभन्दा बढी नै आम्दानी हुने गरेको छ । काठमाडौँ, पोखरा लगायतका ठूला सहरमा डेकुरेशनका लागि फूलको माग आउने भएकोले सामान्य अवस्थामा बजारको अभाव नरहेको उनको भनाई छ ।
आज उनीसँग ३ करोडभन्दा धेरैको लगानी छ । उनको फार्ममा १५ जना कर्मचारीले रोजगारी पाइरहेका छन् । आफ्नै व्यवसायमा रमाउन चाहने उनको इच्छा आज उनको फार्ममा फूलेका गुुलाहरुजस्तै फक्रेको छ । यसैमा उनी सन्तुष्ट छिन् ।

त्यसोे त उनी निकै संघर्ष गरेर यो ठाउँमा आएकी हुन् । सुरुमा फूल खेती गर्न खोज्दा उनीसँग कति पनि पैसा थिएन । सहकारीकाट महँगो ब्याजदरमा १० लाख ऋण लिएर उनले खेती सुरु गरेकी हुन् । ४ वर्षको संघर्षपछि उनले ऋण चुक्ता गरिन् ।
उनी भन्छिन्, ‘विदेशबाट गुलाब फुल आयात गरेको देख्दा फूल खेती गरेरै लाखौं आम्दानी गर्न सकिन्छ भन्ने विश्वास मनमा थियो । तर हातमा पैसा भने थिएन । सहकारीबाट महँगो ब्याजमै भए पनि ऋण लिएर आफ्नो काम गर्ने अठोट गरेँ ।’
उनी यतिबेला विगतको शिक्षण पेशालाई सम्झिन्छिन् । ‘म अहिले पनि शिक्षण पेशामा नै हुन्थेँ भने सायद आप्mना आवश्यकतालाई राम्रोसँग पुरा गर्न पनि सक्दिँन थिएँ होला । यो व्यवसायमा आउँदा त्यस्तो अवस्था छैन । धेरै नभए पनि आफूलाई चाहिने आम्दानी गरिरहेको छु ।’
१० वर्ष व्यवसायिक करियरमा उनलाई पछिल्लो डेढ वर्ष भने निकै गाह्रो भएको छ । आचार्य भन्छिन्, ‘आजको दिनसम्म २० लाख भन्दा बढी नोक्सानी भइसकेको छ । तर, यस्तो नोक्सान भएको हामी मात्रै होइन भनेर चित्त बुझाउनु परेको छ ।’
उनले अहिले जग्गा भाडा मात्रै वार्षिक ७ लाख रुपैयाँ तिर्ने गरेकी छिन् । १५ जना कर्मचारीको खर्च व्यहोर्दा मासिक लाखौं रुपैैयाँ उनको नोक्सान भइरहेको छ । डेढ वर्षदेखि यो क्रम चलिरहेको छ ।
उनले अहिले बैंकको ऋण र सरकारले दिएको अनुदानबाट व्यवसायलाई बचाएर राखेकी छन् । कृषि उद्यमबापत उनले बागमती प्रदेशको कृषि ज्ञान केन्द्रबाट उनले हालसम्म ११ लाख रुपैयाँ अनुदान पाएकी छिन् । ज्ञान केन्द्रले प्लास्टिक टनेल, थोपा सिँचाई गुलाबको बिरुवा खरिदका लागि ५० प्रतिशत अनुदान दिएको हो । समस्याको बेलामा पाएको अनुदानले केही भए पनि राहत मिलेको उनको भनाइ छ ।
यद्यपि उनी आत्तिएकी छैनन् । भन्छिन्, ‘व्यवसाय गर्दा केही नाफा त केही घाटा भइनै हाल्छ । व्यवसायमा घाटा भयो भन्दैमा आत्तिनु हँुदैन । व्यवसायमा घाटा हुँदा धैर्य गर्न सक्नुपर्छ । नाफा कमाउनको लागि नोक्सानी सहने क्षमता राख्नुपर्छ ।’
व्यवसायिक रुपमा कृषि क्षेत्रमा लगानी गर्ने हो भने नेपालमा जुन क्षेत्रबाट पनि राम्रो उत्पादन र आम्दानी गर्न सकिने विश्वास उनको छ । आचार्यले भन्छिन्, ‘व्यवसाय गर्नका लागि सुरुमा बजार अध्ययन गरेर व्यवस्थित रुपमा गर्नुपर्छ । अध्ययन नै नगरी अरुको लहलहिमा लागेर अन्धाधुन्ध लगानी गरेर व्यवसाय सुरु गर्दा आफुले अपेक्षा गरेर अनुसार आम्दानी गर्न सकिँदैन । बजारको अध्ययन गरेर र आफुसँग भएको सीप अनुसार लगानी गरेर व्यवसायी खेती गर्ने हो भने कृषि क्षेत्रबाट घाटा हुँदैन ।’
अवसर नपाएर रोजगारीका लागि ऋण लिएर खाडी मुलुकमा रोजगारी खोजीमा जानुभन्दा सोही ऋणले नेपालको कृषि क्षेत्रका लगानी गरेर राम्रो आम्दानी गर्न सकिने अन्जना बताउँछिन् । आफ्नै परिवारसँग बसेर विदेशको भन्दा राम्रो आम्दानी गर्ने सकिने अन्जनाको सुझाव छ ।


