काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुला भएको छ । सो ३ लाख ६३ हजार ४ सय ९२ आईपीओ बिहीबारदेखि खुला भएको हो । त्यसबाहेक ६ हजार ५८ कित्ता कर्मचारी र १९ हजार ४ सय ५० कित्ता म्युचअल फण्डका लागि समेत आवेदन खुला भएको छ ।
यो आईपीओ असार २१ गते बन्द हुनेछ । यसका लागि न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन गर्न सकिन्छ । यो आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।
कस्तो छ मनकामना स्मार्ट ?
मनकामना लघुवित्त र स्मार्ट लघुवित्तबीच मर्जर भएर यो लघुवित्त बनेको हो । लुम्बिनी प्रदेश कार्यक्षेत्र भएको प्रादेशिक स्तरको यो लघुवित्तले आर्थिक वर्ष २०७७/७८ मा २ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो । यो प्रतिशेयर २६.५१ रुपैयाँ हो ।
यसको नेटवर्थ १३२.८८ रुपैयाँ छ । यो नेटवर्थका आधारमा पहिलो कारोबार ३ सय ९८ रुपैयाँसम्ममा हुन सक्नेछ ।


