images
images

इन्भेष्टर्स फोरमका अध्यक्ष भन्छन्, 'सबै लगानीकर्ता संघलाई एकीकृत बनाउन पहल गर्छाैं'

यस्ता छन् नयाँ अध्यक्षका प्राथमिकता


  • 1.1K
    SHARES
  • २०७८ भाद्र १४ गते सोमबार

    इन्भेष्टर्स फोरमका अध्यक्ष भन्छन्, 'सबै लगानीकर्ता संघलाई एकीकृत बनाउन पहल गर्छाैं'

    काठमाडौं । पुँजीबजारसम्बन्धी लगानीकर्ताको सबैभन्दा पूरानो संगठनको रुपमा रहेको नेपाल इन्भेष्टर्स फोरमले नयाँ तेतृत्व पाएको छ । यसअघि फोरमका उपाध्यक्ष रहेका तुल्सीराम ढकालको नेतृत्वमा फोरमको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । योसँगै छोटेलाल रौनियार नेतृत्वको कार्यसमिति निवर्तमान भएको छ । 

    ३ वर्षअघि फोरमका ताकालिन अध्यक्ष अम्बिकाप्रसाद पौडेलले राजीनामा दिएपछि रौनियार अध्यक्ष बनेका थिए । पौडेलले कार्यकाल नसकिँदै राजीनामा दिएका कारण उनको बाँकी रहेको कार्यकालको १ वर्ष रौनियारले चलाए । त्यसपछिको एक कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेपछि उनी फोरमको नेतृत्वबाट बिदा भएका हुन् । 

    नवनिर्वाचित अध्यक्ष ढकाल स्थापनाकालदेखि नै इन्भेष्टर्स फोरममा आवद्ध थिए । सुरुमा कार्यसमिति सदस्य रहेको उनी उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारीमा आएको बताउँछन् । करिब ११ वर्षसम्म लगानीकर्ताको हतिका लागि काम गर्दै आएकोले अध्यक्षको जिम्मेवारी निर्वाह गर्न आफूलाई खासै गाह्रो नहुने उनको विश्वास छ । 

    नयाँ अध्यक्षका प्राथमिकता के के छन् ? 

    आफ्नो मुख्य प्राथमिकता भनेकै पुँजी बजारलाई मर्यादित उद्योगको रुपमा स्थापित गर्ने रहेको ढकाल बताउँछन् । त्यसका लागि आफ्नो २ वर्षे कार्यकालमा मुलतः ५/६ वटा कामलाई प्राथामिकतामा राखेर अघि बढ्ने उनको भनाइ छ । 

    उनको पहिलो प्राथमिकता अर्थ मन्त्रालयले २ वर्षअघि गठन गरेको पुँजीबजार वा मुद्राबजारसम्बन्धी समितिले सिफारिस गरेका ५८ बुँदाको पूर्ण कार्यान्वयन रहेको छ । अहिले पनि सो प्रतिवेदनका कतिपय बुँदा अझै पनि कार्यान्वयनमा जान नसकेको उनको भनाइ छ । नियामक निकाय तथा मन्त्रालय तथा सरकारसँगको समन्वयमा यो प्रतिवेदनको कार्यान्वयन गर्ने ढकाल बताउँछन् । 

    निजी क्षेत्रको छुट्टै स्टक एक्सचेञ्ज खोल्नुपर्ने मागलाई पनि सशक्त ढंगले उठाएर सार्थक निष्कर्षमा पुर्याउने उनको अर्को लक्ष्य छ । नेपालमा अहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एउटा मात्रै पुँजी बजार रहेको अवस्था छ । तर, सरकारी लगानीको एउटा मात्रै संस्था हुँदा यसले प्रतिस्पर्धात्मक ढंगबाट काम गर्न नसकेको उनले बताए । 

    ढकाल भन्छन्, ‘जसरी निजी बैंकहरु आएपछि सरकारी बैंकहरु प्रतिस्पर्धी बन्दै गए, त्यसैगरी नेप्सेको विकासको लागि समेत प्रतिस्पर्धा गर्ने अर्को बजार आउनुपर्छ, यसो हुँदा नेप्से र समग्र बजारलाई पनि फाइदा हुन्छ ।’ उनले पहिले ४/५ वटा कम्पनी हुँदा र अहिले सयौं कम्पनी रहेको अवस्थामा एउटै मात्रै बजार रहनु उपयुक्त समेत नभएको बताए । 

    बैंक तथा वित्तीय सस्थालाई ब्रोकर लाइसेन्स दिनु अब फोरमको पमुख माग हुने उनको भनाइ छ । अहिले सी आश्वा प्रणालीबाट बैंकिङ च्यानलको प्रयोग गरेर प्राथमिक बजारमा पहुँच पुगेजस्तै दोस्रो बजारको पहुँच अभिवृद्धिको लागि बैंकिङ प्रणालीको सहभागिता अनिवार्य रहेको समेत उनको भनाइ छ । 

    बजारमा अहिले कायम रहेको कमिशन अझै महँगो भएकोले त्यसलाई घटाउनुपर्ने माग आफ्नो अर्को प्राथमिकता हुने ढकाल बताउँछन् । अहिले बजारमा शेयरको कारोबार गर्दा न्यूनतम २५ रुपैयाँ नघट्ने गरी ०.२७ प्रतिशतदेखि ०.४० प्रतिशत कमिशन लाग्ने गरेको छ । यस्तो कमिसन शेयर खरिद वा बिक्री दुवै समयमा लाग्ने व्यवस्था छ । कमिसनलाई घटाउने तथा शेयर बिक्री गर्दा मात्रै कमिसन लाग्ने व्यवस्थाका लागि आफूहरु लागिपर्ने उनको भनाइ छ । 

    पछिल्लो समय शेयर बजारप्रति नियामक निकायबाट बजारलाई प्रभावित पार्नेगरी आएका व्यवस्थालाई बजारअनुकुल बनाउने तथा बजारमा फैलाइने हल्लाहरुलाई समेत चिर्नेगरी लगानीकर्तालाई सुसूचित गर्नु समेत फोरमको प्राथमिकता रहेको उनको भनाइ छ । 

    ‘अहिले मौद्रिक नीतिमार्फत् ऋणमा १२ करोडको सीमा कायम गरिएको छ । यो सीमा मार्जिन लेन्डिङका हकमा मात्रै लागु हुने भनिएको छ । तर, अहिले शेयर धितोमा १२ करोडभन्दा बढी ऋण नै नपाइने हो कि भन्ने जस्तो बुझाइ देखिएको छ । यस्ता भ्रमलाई चिर्न तथा सहज रुपमा मार्जिन लेन्डिङ पाउने वातावरण बनाउन पनि हामीले काम गर्नुपर्ने छ ।’

    लगानीकर्ता संघको मर्जरमा प्रयास गर्छाैं 

    अध्यक्ष ढकाल एउटै उद्देश्य भएका लगानीकर्ता संघहरु मिलेर एकीकृत संस्था बनाउने विषय पनि आफ्नो प्राथमिकतामा रहेको बताउँछन् । अहिले बजारमा ३ वटा लगानीकर्ता संघहरु दर्ता भएर सञ्चालन भइरहेको अवस्था छ । दर्ता नभएका केही संगठनहरुले समेत समानान्तर रुपमा गतिविधिहरु गरिरहेको अवस्था छ । 

    ती संघहरु एक भएर जान सकेको अवस्थामा लगानीकर्ताको बलियो संगठन बन्नसक्ने उनी बताउँछन् । यसका लागि आफूहरु खुला रहेको उनको भनाइ छ । ‘अहिले ३ वटा संगठन दर्ता भएर चलिरहेको अवस्था छ । कुनै एजेन्डामा कार्यगत एकता त हामीले गरिरहेका पनि छौं । उहाँहरुसँग पनि मिलेर जान सकिन्छ,’ ढकाल भन्छन्, ‘केही दर्ता नभएर पनि बजारमा लागि काम गरिरहेका समूह पनि छन् । उहाँहरु आउनुहुन्छ भने अहिले पनि फोरममा केही ठाउँ रिक्त छन्, त्यहाँ समायोजन भएर जान सकिन्छ ।’


    images

    Logo