नेपाल इन्भेष्टर्स फोरमको ३ वर्षे अवधि पूरा गरेर नेतृत्वबाट बाहिरिएको छु । खासगरी फोरमको विधान अनुसार एउटा व्यक्तिले २ कार्यकाल काम गर्न पाउनुपर्ने व्यवस्था थियो । तर, तात्कालिन अध्यक्ष अम्बिका पौडेलले १ वर्ष कार्यकाल बाँकी रहँदै राजीनामा दिएपछि बाँकी रहेको अवधिमा पनि फोरमको नेतृत्व मैले गरेकोले त्यो समयलाई समेत एक कार्यकाल मानेर मैले ३ वर्ष मात्रै संघको नेतृत्व गरेको हुँ ।
नयाँ सोच भएका साथीहरु आउनु पर्छ, जसले गर्दा पुँजीबजारको वृद्धि विकासमा सहयोग पुग्छ भन्ने हेतुले मैले अर्को कार्यकालका लागि नेतृत्वको दाबी गरिँन । नयाँ आउनु भएका साथीहरू क्षमतावान् हुनुको साथै नवीनतम सोचले भरिपूर्ण हुनुहुन्छ । उहाँहरूले पुँजीबजारको विकासमा फड्को मार्ने गरी काम गर्नुहुने कुरामा विश्वास लिएको छु ।
समयको हिसाबले ३ बर्ष फोरमको नेतृत्वमा रहेर पुँजीबजारमा रहेका बेथिति विरुद्धमा फोरमको आवाज बुलन्द पार्ने प्रयास मेरो कार्यकालमा भएको छ भन्ने मलाई लाग्छ । यद्यपि अझै पनि पुँजीबजारमा ब्रोकरहरुको एकाधिकार कायमै छ । सोही कारण लगानीकर्ताहरू पेलिनुपर्ने अवस्था पनि यथावत नै छ ।
फोरमको नेतृत्वमा नभए पनि समयमै पैसा नपाउने, चर्को कमिशनका मारमा परेका लगानीकर्ताको आवाजलाई बुलन्द बनाउनका लागि सर्दैव क्रियाशील रहने प्रतिबद्धता गर्दछु । मैले मेरो पुरा जीवन नै पुँजीबजारका लागि समर्पित गरेको छु । यसकारण फोरमबाट बिदा भएपनि सँधै पुँजीबजारको विकास लगानीकर्ताहरुको मनोबल उच्च बनाउने र बेथितिका विरुद्धमा गर्नुपर्ने कामका लागि सदैव तयार रहनेछु ।
३ बर्षे कार्यकालमा भएका उपलब्धि
हाम्रो टीम नेतृत्वमा आएपछि फोरमले निरन्तर पुँजीबजारमा भएका गलत काम तथा लगानीकर्तालाई मारमा पार्ने क्रियाहरुको विरुद्धमा पटक पटक आवाज उठाएका छौँ ।
हामीले सबैभन्दा पहिला पूँजीगत लाभकरमा बोनस शेयरमा लगाइएको करलाई हटाउनको लागि आन्दोलन गर्यौँ र सफल भयौँ । त्यस्तै, कोराना महामारीको बेला अनलाइन प्रविधिबाट मात्रै कारोबार हुने स्थिति पैदा भयो । जसले बजारमा अनेक खालका चलखेलको अवस्था हामीले देख्यौं ।
त्यो समयमा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या १७ हजार मात्रै थियो । महामारीको बेला बजार खोल्दा २ दिनमा ४ करोड रुपैयाँ मात्र कारोबार भयो । यो कारोबारमा करिब १ प्रतिशत लगानीकर्ताको मात्र सहभागिता रह्यो । तर, सो कारोबारबाट बजारको ६८ अर्ब रुपैयाँ पुँजीकरणमा घट्यो ।
महामारीका कारण बजारमा कारोबार गर्नको लागि सहज स्थिति नभएकोले नेप्से बन्द गर्नको लागि आन्दोलन गर्यौँ र बन्द गर्न सफल भयौँ । यसबाट पनि लगानीकर्ताहरु मारमा पर्ने स्थितिमा कमी आयो । साथै, सोही बेला फोरमले बजार तथा अनलाइन प्रणालीको कारोबार सुधार्न दबाब सिर्जना गर्यो । नेप्सेले पनि बाध्य भएर अनलाइन प्रणालीमा सुधार गर्यो ।
अनलाइन प्रणाली सुध्रिएपछि अहिले बजारमा डिम्याट खाता खोल्नेको संख्या ४२ लाख पुगिसकेको छ । ३१ लाखले मेरो शेयरको खाता खोलेका छन् । अहिलेसम्म ९ लाख भन्दा धेरै लगानीकर्ताले अनलाइन कारोबारका लागि युजरनेम र पासवर्ड लिइसकेको अवस्था छ ।
प्रणालीमा सुधार पश्चात विदेशमा रहेका नेपालीहरुको अनलाइन कारोबार मार्फत पुँजीबजारमा ११ खर्ब रुपैयाँ बचत रहेको छ । हाल २२ लाखभन्दा धेरै लगानीकर्ता शेयर बजारमा सक्रिय छन् । २२ अर्ब रुपैयाँसम्मको कारोबार हुनसक्ने अवस्था सिर्जना भएको छ
अघिल्लो वर्ष मात्रै शेयर बजारले १४ अर्ब २० करोड रुपैयाँभन्दा बढी पुँजीगत लाभकर तिरेको छ । यो रकम सीडीएससी र ब्रोकरको कमिशन बाहेकको हो ।
लगानीकर्ताको बढ्दो आकर्षणले बजार पुँजीकरण ४४ खर्ब रुपैयाँ नाघिसकेको छ । यो पुँजीकरण नेपाल सरकारको बजेट भन्दा ३ गुणा ठुलो हो । साथै, पुँजी बजारले कुल ग्राहस्र्थ उत्पादनमा राम्रो योगदान गर्न सफल भएको छ ।
अहिले १५ प्रतिशत नेपालीहरु प्रत्यक्ष परोक्ष रुपमा शेयर बजारमा जोडिएका छन् । सरकारी जागिरे, विद्यार्थी, विभिन्न पेशा व्यवसायसँग आवद्ध लगानीकर्ताको आकर्षण शेयर बजारमा बढिरहेको छ । लगानीकर्ताहरुको यो आकर्षण दक्षिण एशियाली देशमै सम्मानजनक हो ।
सम्बन्धित निकायहरुले ब्रोकरहरुसँग मात्र बजारको बारेमा छलफल गर्ने गरेकोमा अहिले त्यो अवस्थामा परिवर्तन भइ लगानीकर्ताको प्रतिनिधित्व हुनेगरी सबै निकायले छलफलमा बोलाउने र सल्लाह सुझाव माग्ने परिस्थिति सिर्जना भएको छ । साथै, मेरो नेतृत्व अवधिमा ३३ प्रतिशत ब्रोकर कमिसन घटाउने, ल्याप्चे युगको अन्त्य गर्ने लगायतका बिषयमा पनि फोरमले महत्वपूर्ण भुमिका निर्वाह गर्यो ।
नयाँ नेतृत्वको अबको गन्तव्य
हालसम्म पुँजीबजारमा भएका आन्दोलनहरुबाट प्राप्त उपलब्धिलाई जोगाउने र नेप्से, सेबोन, सीडीएससी, राष्ट्र बैंक तथा अर्थ मन्त्रालयमा फोरमले उठाएका मागहरुलाई अगाडि बढाउन भूमिका खेल्नु नयाँ नेतृत्वको प्रमुख दायित्व हो । यसका साथै मोैद्रिक नीतिमा भएका व्यवस्थाहरुलाई सुधार गरेर अगाडि बढ्न पहलकदमी लिनुपर्ने देखिन्छ ।
पुँजीबजार विस्तारका लागि वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिलाएर सबै स्थानीय तहमा पुँजीबजारको विकास र विस्तार गर्ने कुरामा महत्वपुर्ण पहलकदमी लिनुपर्नेछ ।
शेयर बजारमा राम्रो ज्ञान राख्ने क्षमता भएका उपत्यका बाहिर रहेका प्राकृतिक व्यक्तिलाई ब्रोकरको लाइसेन्स दिलाउनको लागि भुमिका आवश्यक छ । नेप्से र धितोपत्र बोर्डले तोकेको मापदण्ड पुरा गरेको व्यक्तिलाई लाइसेन्स दिने कुरामा जोड दिनुपर्ने देखिन्छ ।
अहिले पनि पुँजीबजार काठमाडौं उपत्यका र त्यसमा पनि अनामनगर र पुतलीसडक क्षेत्रमा मात्रै सीमित भएकोले यसको विस्तारमा जोड दिनुपर्छ । देशका हरेक स्थानमा रहेका लगानीकर्ताले आईपीओ भर्छन् । तर, दोस्रो बजारमा बेच्ने कुरामा समस्या देखिन्छ । यसको समाधानको पहल गर्न जरुरी छ ।
अबको पुँजीबजारलाई ५० ओटा ब्रोकरमा मात्र सीमित गरिनु हुँदैन । सीमित ब्रोकर मात्र हुँदा कमिशन चर्को हुने, बजारमा प्रतिस्पर्धा नभएपछि एकाधिकार जमाएर लगानीकर्तालाई मारमा पार्ने काम भइरहेको छ । यसलाई रोक्नको लागि आवश्यक कामहरु तत्काल गर्नुपर्ने देखिन्छ ।
शेयर खरिद बिक्रीमा लाग्ने करमा पनि सुधारको पहल गर्नुपर्ने देखिन्छ । विश्व बजारमा शेयर बिक्री गर्दा मात्रै कमिशन लाग्ने गर्छ । तर, यहाँ किन्दा र बेच्दा दुवै अवस्थामा कमिशन तिर्नुपर्ने व्यवस्था छ । अष्ट्रेलियामा शेयर बेच्दा मात्रै कमिशन लाग्छ ।
भारतको बैंगलोरमा वार्षिक रुपमा निश्चित रकम मात्रै कमिशन तिर्नुपर्छ । कारोबार रकमका आधारमा कमिसन तिर्नुपर्ने व्यवस्था त्यहाँ छैन । हामीले पनि विश्वमा भएका त्यस्तै असल अभ्यासहरुलाई नेपाली बजारमा लागु गराउन जोड दिनुपर्छ ।
अन्तमा, पुँजीबजारमा सबै नागरिकको पहुँच पुग्ने वातावरण निर्माण तथा बजारलाई स्वस्थ र लगानीमैत्री बनाउने कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गर्न नयाँ बनेको कार्यसमितिले सफल होस् भन्न शुभकामना व्यक्त गर्दछु ।


छोटेलाल राैनियार
