काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज निरन्तर ओरालो लागिरहेको छ । अघिल्लो साता चार दिन कारोबार भएको नेप्से साताभरिनै नकरात्मक रह्यो । यो साताको पहिलो कारोबार दिनमा पनि नेप्सेमा नकारात्मक सर्किट ब्रेक लाग्यो । जसले गर्दा बजार ४० मिनेट रोकिन पुग्यो ।
पुजीँबजार निरन्तर ओरालो लाग्नुमा नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा भएको व्यवस्था हो भन्ने धेरै लगानीकर्ता छन् । उक्त नीतिमा राष्ट्र बैंकले मार्जीन प्रकृतिको शेयर कर्जामा नियन्त्रित व्यवस्था गरेको लगानीकर्ताको आरोप छ । शेयर धितो राखेर लगानीकर्ताले सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैँयासम्म कर्जा लिने व्यवस्था मौद्रिक नीतिले गरेको छ ।
अहिले १२ करोड रुपैयाँभन्दा माथिको शेयर कर्जा लिने १६४ जना लगानीकर्ता रहेको राष्ट्र बैंकले जनाएको छ । पुजीँबजारमा औसत २३ लाख लगानीकर्ताले आई पी ओ भर्ने गरेको पाइन्छ । सो कारण राष्ट्र बैंकले साना लगानीकर्तालाई हौसला प्रदान गर्न यो व्यवस्था गरेको तर्क गरिरहेको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को कार्यक्रममा यस बिषयलाई लिएर प्रश्न गरे 'तपाँइहरुले कहिल्यै १२ करोड ऋण लिनु भएको छ ?' १०–१५ लाख लिन कति धेरै कागजपत्र बुझाउनु पर्छ १२ करोड भन्दा बढी ऋण साना लगानीकर्ताले लिन सक्छ ?
अहिलेको मौद्रिक नीतिले गरेको व्यवस्था साना लगानीकर्तालाई हौसला प्रदान गर्नका लागि भएको उनको भनाई थियो । यसबाट ठुला लगानीकर्तामात्र खुसि नभएको उनले बताए । यसका लागि दबाब आइरहेको पनि उनले कार्यक्रममा बताएका थिए ।
तर, राष्ट्र बैंकले ल्याउने नीति विभेदकारी हुन नहुने विज्ञहरुको भनाइ छ । लगानीकर्ताले आफ्नो क्षमता अनुसारको कर्जा लिने भएकाले साना र ठुला भनेर विभेद गर्न नहुने पुजीँवजारका विज्ञ मुक्ति अर्याल बताउँछन् ।
बजारमा कसले कति कर्जा लिन्छन् यो बिषय गौण हो । थोरै लगानीकर्ताले कर्जा लिए पनि कर्जाको आकार कत्रो छ भन्ने मुख्य कुरा हुन्छ । ठुला लगानीकर्तालाई मात्र लक्षीत गरेर यस्तो व्यवस्था गरिनु ठिक नभएको अर्यालले बताए ।
उकालो लाग्ला त बजार ?
मौद्रिक नीति आएपछि यसको असर देखिएपनि बजार विस्तारै उकालो लाग्ने विज्ञहरु बताउँछन् । बजार आफैँले पनि थोरै भएपनि करेक्सन गर्नुपर्ने हो यसो हुन सकिरहेको छैन । चाँडैनै बजार करेक्सन हुने अर्यालले बताए ।
बेला बेलामा नियामक निकायहरुबाट यस्ता किसिमका व्यवस्था हुँदा पुजीँबजारलाई असर र्गे लगानीकर्ताहरु बताउँछन् । राष्ट्र बैंकले ल्याउने नीति त्यसले पार्ने असरको बारेमा सचेत हुनुपर्ने लगानीकर्ताको भनाई छ ।
बजारमा करेक्सन चाँडै आउनसक्छ तर मार्जिन प्रकृतिको कर्जामा गरेको व्यवस्था राष्ट्र बैंकले फिर्ता लिनुपर्ने लगानीकर्ताहरुको भनाई छ । सोही विषयमा आइतबार लगानीकर्ताहरुले गभर्नरको राजीनामा पनि मागिसकेका छन् ।
साना ठुला लगानीकर्ता भनेर राष्ट्र बैंकले विभेद गर्नुभन्दा साना लगानीकर्तालाई कर्जामा विशेष व्यवस्था गर्ने र क्षमता अनुसारको कर्जा लिनको लागि छुट दिनुपर्ने अर्याल बताउँछन् ।


