नेपाल दक्षिण एशियाको सबैभन्दा छिटो बढ्दो महानगरीय क्षेत्र मध्ये एक हो । उपत्यकामा निजी सवारी साधनहरुको संख्या उच्च दरले बढिरहेको छ । यसले गर्दा यहाँ कार्बन उत्सर्जन वृद्धिदर उच्च गतिमा बढिरहेको छ।
नेपालको कुल कार्बन उत्सर्जनको ४५ प्रतिशत यातायात उत्सर्जनबाट आउँछ। प्रत्येक वर्ष वायु प्रदूषणले ९ हजार शिशुको समयपूर्व ज्यान लिइरहेको अध्ययनहरुले देखाएका छन्। यातायात क्षेत्रको विद्युतीकरणले हावाको गुणस्तरमा सुधार गर्न सक्छ र डिजेल मार्फत् चल्ने गाडीबाट निस्कने कार्बोन ग्यास घटाउन सकिन्छ । यो समस्यालाई सम्बोधन गर्नका लागि नेपाल सरकारले २०३० सम्म ५० प्रतिशत सार्वजनिक यातायातलाई विद्युतीकरण गर्ने लक्ष्य निर्धारण गरिसकेको छ।
अहिले नेपालमा बार्षिक खर्बाैं रुपैयाँ बराबरका पेट्रोल डिजेल खपत भइरहेको छ । आयातित पेट्रोलियममा पूर्णतया निर्भर भएको नेपालजस्तो विकासोन्मुख मुलुकलाई यातायात क्षेत्रमा हुने इन्धनको आयात घटाउन सकेमा यसको बहुमुखी फाइदा हुने सम्भावना समेत देखिन्छ ।
यातायात क्षेत्रको विद्युतीकरणका लागि बजारमा दुईवटा वैकल्पिक मोडेल छन् । पहिलो ब्याट्रीयुक्त इलेक्त्रिक सवारी साधन र हाइड्रोजन फ्युल सेलयुक्त सवारी साधन । यसमध्ये ब्याट्री इलेक्त्रिक सवारी साधन छोटो दुरीको लागि उपयुक्त छ भने हाइड्रोजन फ्युल सेल लामो दुरीका र उच्च भारयुक्त सवारी साधनको लागि बढी उपयुक्त छ ।
उदाहरणको लागि अहिले प्रयोगमा आउने कार, जीप भ्यान तथा छोटो दूरीका यात्रुबाहक बसको विकल्प इलेक्ट्रिक ब्याट्री हुन सक्छ । तर, ठूला बस तथा ट्रकहरुको विकल्प ब्याट्री हुन सक्दैन भन्ने प्रमाणित भइसकेको छ । यसको लागि सबैभन्दा उपयुक्त विकल्प भनेकै हाइट्रोजन ग्यास हो । अध्ययनले हाइड्रोजन ग्यासले ब्याट्रीले भन्दा ४०० गुणा बढी भारबहन क्षमता राख्छ। त्यसैले हाइड्रोजन उर्जा फोसिल फ्युलको एउटा विकल्पहीन र महत्वपूर्ण विकल्पको रुपमा विश्वमा स्थापित भइसकेको छ ।
अर्को महत्वपूर्ण विषय के हो भने विद्युत् उर्जा आफैंमा सञ्चय गर्न नसकिने खालको हुन्छ । नेपालमा जलविद्युत, वायु उर्जा, सौर्य ऊर्जा लगायतबाट विद्युत् उत्पादन भइरहेका छन् । तर, यी उर्जाहरु उत्पादनकै समयमा प्रयोग गर्नुपर्ने भएकोले कतिपय अवस्थामा यो खेर जाने र कतिपय अवस्थामा अपुग हुने सम्भावना छ । हाइड्रोजन उर्जा यसरी सञ्चय गर्न नसकिने उर्जालाई सञ्चित गर्ने एउटा माध्यमको रुपमा समेत उपयुक्त हुने प्रमाणित भइसकेको छ ।
हाइड्रोजन उर्जाको महत्व यसरी प्रष्ट भइसकेको अवस्थामा हाइड्रोजन कसरी उत्पादन गर्ने भन्ने अर्को महत्वपूर्ण विषय रहन्छ । नेपालमा अथाह रुपमा जलविद्युत्को उत्पादन क्षमता भएको र अहिले पनि बर्खा र रातीको समयमा विद्युत् खेर गइरहेको अवस्थामा हाइड्रोजन उत्पादन अपरिहार्य बन्न गएको छ । इनर्जी सरप्लसको समयमा उत्पादन गर्नेगरी उद्योग स्थापना गर्दा यसले खेर जाने विद्युतको सदुपयोग गर्न मद्दत गर्छ । यसबाट जुनसुकै माध्यमबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय ग्रीडमा जोड्न, विद्युत् खरिद सम्झौता गर्न समस्या समेत हुँदैन ।
वर्षा मौसममा उत्पादन हुने अतिरिक्त जलविद्युतले हाइड्रोजन उत्पादन गर्न सकिन्छ । यस्तो हाइड्रोजन फ्युल सेल सवारी साधनहरुमा प्रयोग गर्न सकिन्छ । भविष्यमा उत्पादन क्षमता कम भएको सुख्खा मौसममा विद्युतीकरणकै लागि पनि प्रयोगमा ल्याउन सकिन्छ।
नेपालले सन् २०३० सम्ममा ३ हजार ५ सय मेगावाटसम्मको अतिरिक्त जलविद्युत् उत्पादन गर्ने सम्भावना देखिएको छ । यो नेपालको लागि कम मुल्यमा हाइड्रोजन उत्पादनको गर्ने एउटा ठूलो अवसर पनि हो। नेपाल कम मूल्यमा हाइड्रोजन उत्पादक देशको रूपमा स्थापित भएपछि अन्तर्राष्ट्रिय हाइड्रोजन फ्युल सेल सवारी साधन निर्माताहरुलाई नेपालको बजारमा प्रवेश गर्नको लागि आकर्षित गर्न सकिन्छ।
हाइड्रोजन फ्युल सेल सवारी साधनहरु आफ्नो वजनको सम्बन्धमा अधिक ऊर्जा भण्डारण गर्न सक्छन् र यस्ता साधनमा छिटो इन्धन भर्न सकिन्छ। ब्याट्री इलेक्त्रिक सवारी साधनमा इन्धन भर्न कम्तीमा ३, ४ घन्टा लाग्छ । हाइड्रोजन फ्युल सेल सवारी साधनहरुमा १०, १५ मिनेटमा भर्न सकिन्छ। यसले गर्दा हाइड्रोजन फ्युल सेलले सवारी साधनसँग हेभी ड्युटी गाडीलाई प्रतिस्थापन गर्ने क्षमता राख्छ।
अमेरिकी उर्जा विभागका वैज्ञानिक हेभी ड्युटीको क्षेत्रमा हाइड्रोजन टेक्नोलोजी अपनाउन हाइड्रोजनको प्रयोगको व्यापक सुरुवात गर्ने घोषणा गरेका छन् ।यसको प्रतिस्थापनले व्यापार घाटालाई सन्तुलनमा ल्याउन सक्छ र कार्बन उत्सर्जनलाई पनि ठूलो मात्रामा घटाउन सकिन्छ।
यस्तो अवस्थामा अब हाइड्रोजन उत्पादन भण्डारण, वितरण, उपयोग गर्ने प्रविधि र हाइड्रोजन फ्युल सेलमा आधारित सवारी जस्ता उपकरणको लागि आवश्यक सम्पूर्ण लगानीमा टेक्नो-इकोनोमिक प्रयास र अनुमानहरु हाम्रो लागि महत्वपूर्ण कदम हुनसक्छ।
यसको कार्यान्वयनका लागि यसप्रति सरोकार राख्ने सम्पूर्ण पक्षहरु नियामक निकाय र निजी क्षेत्रबीच राष्ट्रिय रोडम्यापसहितको सम्झौताको आवश्यकता छ। । यसो हुन सकेमा हाइड्रोजन उत्पादन नेपालको आत्मनिर्भर अर्थतन्त्र निर्माणको कोशेढुंगा साबित हुनसक्छ ।


नसला शाक्य

