काठमाडौं । मंगलबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार करेक्सन भएर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.३६ अंकले घटेर २ हजार ८ सय ४६ दशमलव ३० विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १८ स्क्रिपको १२ अर्ब ९४ करोड रुपैयाँ बराबरको २ करोड ६३ लाख कित्ता शेयर किनबेच भएको छ ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार १४ अर्ब २८ करोडको शेयर कारोबार भएको थियो । मंगलबार कारोबारमा आएका ४१ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ९८ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मुल्य स्थिर छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, जलविद्युत, लगानी, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ९ करोडको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ६४ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको ४७ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, यस दिन आत्मनिर्भर लघुवित्तको शेयर मूल्य साढे ६ प्रतिशत बढेको छ भने युनिभर्सल पावर कम्पनीको शेयर मूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ।


