काठमाडौं । बुधबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.१६ अंकले घटेर २ हजार ८ सय २१ दशमलव १३ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ८ स्क्रिपको १० अर्ब ९७ करोड रुपैयाँ बराबरको २ करोड ३३ लाख कित्ता शेयर किनबेच भएको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब १३ अर्बको शेयर कारोबार भएको थियो । आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ७४ कम्पनीको शेयर मुल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.४३ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.५५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९६ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ९० करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सगरमाथा जलविद्युतको ३० करोड ७९ लाखको शेयर कारोबार भएको छ ।
यस दिन दुई कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन समाज लघुवित्त वित्तीय संस्था र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ।


