काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।
सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। यसका साथै कम्पनीका कर्मचारीहरुका लागि ६७ हजार ५ सय कित्ता, सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५ सय कित्ता साधारण शेयर पनि बाँडफाँट गरिसकेको छ।
कम्पनीले अब दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। फागुन २५ गते, आइतबार साँझ ५ बजेसम्ममा कम्पनीको शेयरमा कुल १५ लाख ९० हजार ५ सय ९४ आवेदनबाट १ करोड ९२ लाख ५७ हजार १ सय १० कित्ता शेयरका लागि आवेदन परिसकेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।


