काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ मंगलबार चैत ५ गते बाँडफाँड हुने भएको छ । उक्त आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा विहान साढे ८ बजे बाँडफाँड हुने भएको हो ।
उक्त आईपीओमा अन्तिम दिनसम्म २० लाख ४८ हजार ५ सय ३८ जना आवेदकले २ करोड ४४ लाख ९२ हजार १ सय ७० कित्ताका लागि आवेदन दिएका छन्। कम्पनीले फागुन २२ गतेदेखि आइपीओ विक्री गरेको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ जारी गरेको हो।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले शेयर पाउनेछन्।
कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आइपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबरको २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
यसैगरी कम्पनीका कर्मचारीहरुका लागि ६७ हजार ५ सय कित्ता र सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५ सय कित्ता साधारण शेयर पनि बाँडफाँट गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा कम्पनीले १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।


