काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्लो ५ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आज कारोबारमा आएका ३ सय १७ स्क्रिपको ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता शेयर किनबेच भएको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार साढे ४ अर्बको शेयर कारोबार भएको थियो ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४२ करोड ६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब ३६ करोडको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको करिब ३५ करोडको शेयर किनबेच भएको छ।
यस दिन मूल्य बढेका कम्पनीहरूको वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।


