काठमाडौं । बुधबार शेयर बजार बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६६ अंकले बढेर २ हजार ६ सय ७६ दशमलव २८ विन्दुमा पुगेको छ । आज कारोबारमा आएको ३ सय १७ स्क्रिपको ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको १ करोड कित्तामाथि शेयर किनबेच भएको छ ।
बुधबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब ३० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहकाे परिसूचक घटेकाे छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ र व्यापार उपसमूहकाे परिसूचक सामान्य घटेकाे हाे।
आज कारोबारमा आएको १ सय ५४ कम्पनीको शेयर मूल्य बढेको छ । ९० कम्पनीको शेयर मुल्य घटेको छ भने १ कम्पनीको शेयर मुल्य स्थिर छ ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको ३० करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रि-इन्स्योरेन्सको २७ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन नेपाल माइक्रो इन्स्योरेन्सको शेयर सर्किट लागेको छ। कम्पनीको शेयर गत बिहीबार नेप्सेमा सूचीकृत भई हिजो अर्थात मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आएको हो। त्यस्तै, यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशत बढेको छ भने बोटलर्स नेपाल ९बालाजु० को शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।


