काठमाडौं । सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ४.८३ अंकले बढ्दै २७६६.०९ विन्दुमा पुगेर बन्द भएको हो ।
दिनभरमा ३२२ कम्पनीका ९२ लाख ४३ हजार कित्ता सेयर किनबेच हुँदै ४ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । तर, परिसूचक बढे पनि धेरै कम्पनीको मूल्य घटेको छ । १०१ कम्पनीको मूल्य बढ्दा १४९ कम्पनीको घट्यो भने १ कम्पनी स्थिर रह्यो ।
समूहगत सूचकमा लगानी, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहमा गिरावट आएको छ भने अन्य सबै समूहमा हल्का वृद्धि देखिएको छ । अन्य समूह सबैभन्दा बढी १.४२ प्रतिशतले बढ्यो भने बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बीमा र व्यापार समूहमा १ प्रतिशतभन्दा कम वृद्धि भयो ।
विकास हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दै ४७०.२० रुपैयाँ पुगेको छ, जुन आजको सबैभन्दा ठूलो वृद्धि हो । नेपाल रिपब्लिक मिडिया (८.६१%), नारायणी डेभलपमेन्ट बैंक (७.२८%) र सीवाईसी लघुवित्त (४.५३%) पनि धेरै बढ्नेमा परे । त्यस्तै, नाडेप लघुवित्त २.९९ प्रतिशतले घट्दै सबैभन्दा धेरै मूल्य घट्ने कम्पनी भयो ।
कारोबार रकमको हिसाबले नेपाल पुनर्बीमा कम्पनी अगाडि रह्यो, जसको ४८ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो । त्यसपछि हिमालयन रिइन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर उच्च कारोबार भएका कम्पनीमा परे ।
अघिल्लो दिनको तुलनामा मंगलबार कारोबार रकम डेढ अर्ब रुपैयाँभन्दा बढीले घटेको छ । सोमबार ५ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ४ अर्ब १८ करोडमा सीमित रह्यो । यद्यपि, कारोबार सुरु भएको १० मिनेटमै नेप्से २७७५ विन्दुमा पुगेको थियो, जुन दिनभरकै उच्चतम बिन्दु रह्यो ।


