काभ्रेपलाञ्चोक, ९ असोज । अविरल वर्षापछि पहिरो खस्दा बिपी राजमार्ग अवरुद्ध भएको छ। शुक्रबार बिहान रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खसेपछि राजमार्गमा सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
बिहान करिब ४ः३० बजे पहिरो खसेर सडक अवरुद्ध भएको हो। पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, वर्षा र बाढीपहिरोको सम्भावनालाई मध्यनजर गर्दै बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा सवारी सञ्चालन गर्न नदिइने भएको हो।
जल तथा मौसम विभागको पूर्वानुमानअनुसार वर्षा अझै बढ्नसक्ने भएकाले बाढीपहिरोको अवस्था हेरी दिउँसोसमेत सवारी आवागमन रोक्न सकिने प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार वर्षा, बाढी र पहिरोको अवस्थाको निरन्तर मूल्याङ्कन गरिनेछ। दिउँसो पनि सवारी सञ्चालन गर्दा जोखिम हुने अवस्था देखिए जिल्ला प्रहरी कार्यालयले आवश्यक निर्णय गर्नेछ।
राजमार्गको अवरोध तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै छिमेकी जिल्ला सिन्धुली र भक्तपुरका प्रहरी युनिटसँग समेत समन्वय गर्ने निर्णय भएको छ।
जिल्ला प्रशासनले नदी किनार र पहिरोको जोखिममा रहेका बस्तीका बासिन्दालाई सम्भावित जोखिमबारे सचेत गराउन तथा जोखिमसम्बन्धी सूचना निरन्तर प्रवाह गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
प्रहरीले बिपी राजमार्गको पछिल्लो अवस्था बुझेर मात्र दिनको समयमा यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। वर्षाका कारण पहाडी सडकमा पहिरो खस्ने जोखिम रहेकाले अनावश्यक यात्रा नगर्नसमेत आग्रह गरिएको छ।



