अविरल वर्षापछि पहिरो खस्दा बिपी राजमार्ग, पृथ्वी राजमार्ग–नारायणगढ–मुग्लिन सडक र कान्ति लोकपथ अवरुद्ध भएका छन् । विभिन्न स्थानमा पहिरो खसेपछि तीनवटै प्रमुख सडकमा यातायात प्रभावित भएको हो । जोखिम बढेपछि केही सडकमा रातिको समयमा लगाइएको आवागमन रोक थप कडाइ गरिएको छ भने केहीमा अर्को सूचना जारी नभएसम्म यातायात बन्द गरिएको छ ।
पहिरो खस्दा बिपी राजमार्ग अवरुद्ध
काभ्रेपलाञ्चोक, ९ असोजः अविरल वर्षाका कारण पहिरो खस्दा बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ४ः३० बजे रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जल तथा मौसम विभागको वर्षासम्बन्धी प्रक्षेपणलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक खण्डमा असोज ८ गतेदेखि १२ गते बिहानसम्म राति ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ । बाढीपहिरोको अवस्था हेरेर दिउँसोसमेत सडक बन्द गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सडकको अवस्था मूल्याङ्कन गरी आवश्यक निर्णय लिन प्रहरीलाई अधिकार दिइएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनार तथा पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई सचेत गराउन र सूचना प्रवाह गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द
चितवन, ९ असोजः अविरल वर्षाका कारण पहिरो खसेपछि पृथ्वी राजमार्गको चितवन खण्ड तथा नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएकामा निरन्तर वर्षा भइरहेकाले सडक बन्दलाई निरन्तरता दिइएको हो । पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि चितवन खण्डमा यातायात रोकिएको हो ।
नारायणगढ–मुग्लिन सडक हुँदै दैनिक १० हजारभन्दा बढी तथा पृथ्वी राजमार्ग हुँदै १४ हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुने गरेका छन् । सडक बन्द भएपछि यी मार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् ।
पहिरोले कान्ति लोकपथ पनि अवरुद्ध
बागमती, ९ असोजः लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि कान्ति लोकपथ पनि अवरुद्ध भएको छ । पहिरोका कारण हेटौँडाबाट कान्ति लोकपथ हुँदै सञ्चालन हुने यातायात सेवा प्रभावित भएको हो ।
मकवानपुरका प्रहरी प्रमुख श्यामबहादुर खत्रीका अनुसार कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फ तीन स्थानमा पहिरो खसेको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि यातायात सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ ।
यसैबीच, लगातारको वर्षाका कारण जोखिम बढे पनि कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह भने सामान्य रहेको प्रहरीले जनाएको छ ।



