काठमाडौं । फिलिपिन्स सन् २०२६ को विश्व जोखिम सूचकाङ्कमा सबैभन्दा बढी विपद् जोखिम भएको देशका रूपमा शीर्ष स्थानमा रहेको छ । विश्व जोखिम प्रतिवेदन २०२६ अनुसार फिलिपिन्स ४६.६९ अङ्कसहित पहिलो स्थानमा रहेको छ ।
प्रतिवेदनअनुसार भारत ४४.९७ अङ्कसहित दोस्रो र इन्डोनेसिया ४४.६३ अङ्कसहित तेस्रो स्थानमा छन् । संयुक्त राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रलाई समेटिएको उक्त सूचकाङ्कमा नेपाल २.४७ को समग्र जोखिम सूचकाङ्कसहित १४६औँ स्थानमा रहेको छ ।
विश्व जोखिम सूचकाङ्कले कुनै देशमा विपद्को जोखिम मूल्याङ्कन गर्दा प्राकृतिक जोखिमको सम्पर्कमा पर्ने अवस्था र सामाजिक संवेदनशीलतालाई मुख्य आधार बनाउँछ । प्रतिवेदनअनुसार जोखिमको स्तरमा समाजको विपद् सामना गर्ने क्षमता तथा अन्य संरचनागत अवस्थाले पनि महत्वपूर्ण भूमिका खेल्छ ।
नेपालको प्राकृतिक जोखिममा पर्ने अवस्था ०.२४ र सामाजिक संवेदनशीलताको सूचक २५ दशमलव ३७ रहेको प्रतिवेदनले देखाएको छ । यस्तै, नेपालको आँधीजन्य जोखिम सूचकाङ्क ०.५० रहेको छ भने आँधीजन्य जोखिमको सूचीमा नेपाल ११६औँ स्थानमा छ ।
नेपालको दीर्घकालीन संवेदनशीलतामा भने उल्लेखनीय वृद्धि देखिएको छ । सन् २००० देखि २०२६ सम्म नेपालको संवेदनशीलता सूचक ३६.१ अंकले बढेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनको विश्लेषणमा संवेदनशीलता सूचकमा भएको वृद्धि अवस्थाको बिग्रँदो दिशासँग सम्बन्धित देखाइएको छ ।
उता, भौगोलिक अवस्थाका कारण फिलिपिन्स निरन्तर उच्च विपद् जोखिममा रहने देशहरूमध्ये परेको छ । पश्चिमी प्रशान्त क्षेत्रमा रहेको फिलिपिन्स उष्णकटिबन्धीय चक्रवातको प्रभावमा पर्ने प्रमुख क्षेत्रमध्ये एक हो । प्रतिवेदनमा आँधीको जोखिम मूल्याङ्कन गर्दा प्राकृतिक जोखिममा पर्ने अवस्थासँगै सम्बन्धित देशको सामाजिक संवेदनशीलतालाई समेत महत्वपूर्ण मानिएको छ ।
विश्व जोखिम प्रतिवेदनअनुसार फिलिपिन्सको आँधीजन्य जोखिम सूचकाङ्क ६९ दशमलव २७ रहेको छ, जुन १९३ देशमध्ये सबैभन्दा उच्च हो ।
प्रतिवेदनले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली, सामाजिक सुरक्षा र विपद् व्यवस्थापनका लागि आवश्यक आर्थिक स्रोतको व्यवस्थालाई महत्वपूर्ण क्षेत्रका रूपमा औँल्याएको छ । स्वास्थ्य, आधारभूत सेवा र पूर्वाधारमा गरिने लगानीले पनि समाजको संवेदनशीलता घटाउन योगदान गर्ने प्रतिवेदनमा उल्लेख छ ।
विश्व जोखिम प्रतिवेदन २०२६ मा संयुक्त राष्ट्रसङ्घका सदस्य रहेका १९३ देशको विपद् जोखिम मूल्याङ्कन गरिएको छ । प्रतिवेदनले प्राकृतिक जोखिमसँगै सामाजिक तथा संस्थागत अवस्थालाई समेत समेटेर देशहरूको समग्र विपद् जोखिमको अवस्था प्रस्तुत गरेको छ ।





