काठमाडौं । सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएको छ । आज बिहान ६ बजेपछि गरिएको मापनअनुसार ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७९५ क्युसेक पुगेपछि थप ढोका खोलिएको हो ।
कोशी ब्यारेजमा ५६ वटा ढोका छन् । यसअघि हिजो दिउँसो पानीको बहाव २ लाख ४० हजार ९ सय क्युसेक नाघेपछि ३१ वटा ढोका खोलिएको थियो । जलसतह निरन्तर बढिरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई सतर्क रहन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले कोशी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा नदीमा माछा मार्ने, दाउरा सङ्कलन गर्ने लगायतका काम नगर्न आग्रह गरेको छ ।
यसैबीच, लगातारको वर्षाका कारण नारायणी नदीमा पनि बाढीले चेतावनीको तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देवघाट जलमापन केन्द्रमा नारायणीको जलसतह ७.४९ मिटर पुगेको छ । नारायणीमा ७.३ मिटरलाई चेतावनी र ९ मिटरलाई खतराको तह मानिन्छ ।
नारायणीको जलाधार क्षेत्रअन्तर्गत त्रिशूली, मर्स्याङ्दी, दरमखोला, कालीगण्डकी र म्याग्दीका विभिन्न जलमापन केन्द्रमा समेत बाढीले चेतावनीको तह पार गरेको महाशाखाले जनाएको छ । तल्लो तटीय क्षेत्र तथा नदी आसपासका डुबान भइरहने होचा भूभागका बासिन्दालाई आज बेलुकासम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा पस्न थालेपछि स्थानीय प्रभावित भएका छन् । सुस्ता गाउँपालिका–५ स्थित थारु टोलका केही घरमा पानी पसेपछि स्थानीयवासी सामुदायिक भवन तथा आफन्तको घरमा आश्रय लिन थालेका छन् । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार बाढी प्रभावितलाई सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ ।
यस्तै, बाँकेमा राप्ती नदीको तटीय क्षेत्रका बासिन्दा पनि बाढीको जोखिममा परेका छन् । राप्ती नदीमा पानीको बहाव बढेपछि राप्ती सोनारी गाउँपालिका–२ देखि नरैनापुरसम्मको तल्लो तटीय क्षेत्र प्रभावित हुन सक्ने भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । थप वर्षा भए बाढीजन्य विपद्को जोखिम बढ्न सक्ने भन्दै आवश्यक सावधानी अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेश प्रदेशमा वर्षाको प्रभाव केही कम भएको छ भने बागमती प्रदेशमा निरन्तरको झरी रोकिएको छ । यद्यपि, केही स्थानमा वर्षा हुने क्रम भने जारी छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज र भोलि वर्षा केन्द्रित रहने महाशाखाले जनाएको छ । लगातारको वर्षाका कारण नदी तथा खोलामा जलसतह बढ्न सक्ने भएकाले तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।



