images
images

वर्षाले खेल रोकिएपछि नेपाल समूह विजेता, क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने


  • 122
    SHARES
  • २०८३ आश्विन १० गते शनिबार

    वर्षाले खेल रोकिएपछि नेपाल समूह विजेता, क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

    काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । जापानविरुद्धको खेल वर्षाका कारण नतिजाविहीन भएपछि नेपालले १ अंक जोड्दै समूहमा शीर्ष स्थान हासिल गरेको हो ।

    निशिनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको थियो । नेपालले ब्याटिङ सकेपछि पुनः वर्षा सुरु भएपछि जापानको इनिङ सुरु हुन सकेन । त्यसपछि खेल नतिजाविहीन घोषणा गर्दै दुवै टोलीलाई १–१ अंक दिइएको हो ।

    नेपालका लागि सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ५ चौका र ३ छक्कासहित अविजित ५७ रन बनाए । लोकेश बमले पनि २२ बलमा १ चौका र ६ छक्काको मद्दतले अविजित ५२ रन जोडे । ओपनर आसिफ शेखले २१ रनको योगदान दिए ।

    नेपालका कुशल भुर्तेल, कुशल मल्ल र गुल्सन झा भने समान २ रनमा आउट भए । जापानका रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले समान १ विकेट लिए ।

    खेल सुरु हुनुअघि पनि वर्षाका कारण करिब एक घण्टा ढिलाइ भएको थियो । वर्षाकै कारण खेल १५ ओभरमा सीमित गरिएको थियो । नेपालले आफ्नो इनिङ पूरा गरेपछि पुनः वर्षा भएपछि दोस्रो इनिङ सञ्चालन हुन नसकेको हो ।

    जापानसँग अंक बाँडेपछि नेपालले २ खेलबाट ३ अंक जोडेको छ । समान २ खेलबाट २ अंकसहित अफगानिस्तान दोस्रो तथा १ अंकसहित जापान तेस्रो स्थानमा रहे ।

    समूह विजेता बनेसँगै नेपालले क्वाटरफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । समूह उपविजेता अफगानिस्तानले भने क्वाटरफाइनलमा भारतको सामना गर्नेछ ।


    images
    images

    Logo